औषधि छर्कन विभेद गरेको भन्दै टिपर तोडफोड
राजविराजमा नगरपालिकाको एक टिपर माथि तोडफोड भएको छ । औषधि छर्कन विभेद गरेको भन्दै राजविराजको राजविराज नगरपालिका–९ बिहारपुर मलेठका स्थानिय युवाहरुले नगरपालिकाको टिपर तोडफोड गरेका हुन् ।
राजविराज नगरपालिकाले कोरोना भाइरसको संक्रमणका बेला नगर क्षेत्रका विभिनन स्थानमा औषधि छर्किरहेको छ । औषधि छर्कन प्रयोग गरीएको स १ ग ३३ नम्बरको टिपर तोडफोड भएको हो । तोडफोडबाट टिपरको अगाडिको सिसा फुटेर क्षति भएको छ ।
औषधि सकिन थालेपछि सडकको एक किनारमा छर्कदै आइरहेका बेला समाजवादी पार्टीका नगर अध्यक्ष एवम् नगर प्रमुखका प्रत्याशी भिमराज यादवको घरअगाडि उनका छोरा, भतिजाले गालीगलौज गर्नुका साथै सिसा फुटाएको नगरपालिकाका एक कर्मचारीले बताए।
औषधि छर्किन खटिएका कर्मचारी बिजय देवका अनुसार औषधि सकिएकाले पुनः औषधि भरेर बाँकी रहेको स्थानमा छर्कने बताए पनि गालीगलौज गर्दै टिपर तोडफोड गरेका हुन् । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीका जिल्ला संयोजक हरेराम यादवले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोनाबाट पीडित भई लकडाउनको सामना गर्नु परेका बेला हुलहुज्जत गरी सार्वजनिक सम्पति ताडफोड, गालीगलौज र आक्रमण गर्नेहरुलाई कानून अनुसार कारवाही गर्न माग गरेका छन् ।
राजपा नेपाल सप्तरीले विज्ञप्तिमार्फत सार्वजनिक सम्पति तोडफोड र राजपा नेपालका युवा नेता रामजी यादवको घर प्रवेश गरी भिमराजसहित उनका छोराहरुले ज्यान मार्ने र अपहरण गर्ने धम्की दिँदै आक्रमण गरेको जनाएको छ ।