बकैयामा विदेशबाट आएकाको घरमा नै स्वास्थ्य जाँच

बकैया गाउँपालिकाले विदेशबाट आएकाहरुको लगत संकलन गरी सबैलाई घरमा नै क्वारेन्टाइनमा राखेको बताएको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालका अनुसार उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको र स्वास्थ्य परीक्षण लागि आफ्नै नेतृत्वमा घरघरमा नै स्वास्थ्यकर्मी सहितको टोली लिएर काम गरीरहेको बताएका हुन् ।
गाउँपालिकाले कोरोना भाइरसको जाखिमलाई ध्यानमा राखेर आजबाट विदेशबाट बकैयामा आएकाहरुलाई घरघरमै पुगेर स्वास्थ्य परिक्षणको काम गरीरहेको छ ।
बकैया गाउँपालिकामा १२ जना विदेशबाट आएको र उनीहरुको स्वास्थ्यमा कुनैपनि परीवर्तन नदेखिएकोले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न दिएको अध्यक्ष खनालले बताए । थप सतर्कताका लागि गाउँपालिकाले स्वास्थ्यकर्मीको टिम लिएर घरघरमै पठाएको अध्यक्ष खनालको भनाई छ ।
स्वास्थ्यकर्मीको टोलीले उनीहरुमा रुघा, खोकी र ज्वरोको लक्षण भए नभएको स्वास्थ्य जाँच गर्ने र त्यस्ता लक्षण देखिएमा बिरामीलाई गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । कुनै पनि विरामीमा कोरोनाको संक्रमण देखिए वा थप उपचार गर्न आवश्यक भएमा तत्काल अस्पताल पठाउने गाउँपालिकाले जनाएको छ ।
सरकारले केरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशैभर लकडाउन गरेकाले गाउँपालिकाले थप सचेताको कार्य गरीरहेको छ । गाउँपालिकाका प्रशासकिय प्रमुख लक्ष्मण पुडासैनिले गाउँपालिका भरी नै कोरोना भाइरसको सचेतनाका काम सहित सबै स्वास्थ्य चौँकीमार्फत स्थानियहरुमा मास्क र स्यानिटाइजर वितरण गर्ने काम गरेको बताए ।
गाउँपालिकाले १२ सैयाको क्वारेन्टाइन समेत निर्माण गरी सकेको र थप क्वारेन्टाइन निर्माणको काम भइरहेको पुडासैनिले बताए ।