भ्रमण वर्ष औपचारिक रुपमै स्थगित, सचिवालयसमेत विघटन गरिने
सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित गरीएको भ्रमण वर्ष २०२० औपचारिक रुपमा नै स्थगित हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल सरकारको गत चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको बताए ।
२०७७ वैशाख १ बाट भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत विघटन हुने भएको छ । सचिवालयको नेतृत्व व्यवसायी सुरज वैद्यले गरिरहेका छन् । सन् २०२० लाई भ्रमण वर्ष मनाउने भन्दै गठन भएको भ्रमण वर्ष सचिवालय विघटन हुने भएको हो ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । सरकारले यस वर्ष मात्र वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भैमण वर्ष मनाउने तयारीका साथ काम गरीरहेको थियो । तर, सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित बनेको हो ।
कोरोनाले विश्वव्यापी सन्त्रास फैलिएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो । तर, कोरोनाकौ संक्रमण झनै बढ्दै गए पछि भ्रमण वर्ष निकै प्रभावित बनेको हो । कोरोना संक्रमणका कारण अधिकांश देश लकडाउनमा छन् । एयरलाइन्स कम्पनीका जहाजहरु ग्राउण्डेड भएका छन् ।
सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । सरकारले १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो ।
७ जनवरीमा संसारभरका नेपाली मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण भ्रमण वर्षको चौथो महिना मै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।
यस वर्ष मुलुकले तेस्रो नेपाल भ्रमण वर्ष मनाइरहेको थियो । यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो।
तुलनात्मक रुपमा ती दुई भ्रमण वर्षलाई सफल भ्रमण वर्ष मानिन्छ । किनकी भ्रमण वर्ष पछि पर्यटनले व्यवसायिक कोल्टे फेरेको थियो । सोहीकारण यो वर्ष सरकारसामु लक्ष्य पूरा गर्ने चूनौती पनि थियो ।