मेयर र नेकपा नेतालाई पक्रन मकवानपुर अदालतले गर्यो पक्राउपुर्जी जारी
गाँजा तस्करीमा संलग्न रहेको आरोपमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
रौतहट जिल्लाका दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
गत माघ ११ गते हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीस्थित प्रहरी टोलीले २ झ १७४९ नम्बरको डुमरिया स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्समा जाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार बरामद गर्नुका साथै चालक ईशनाथ नपा डुमरियाका ३९ वर्षीय महम्मद खलिद, सोही ठाँउका १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका भारतीय नागरीक विनोद सहनीको बयानको आधारमा अदालतले मेयर मेहता र उनका भाइ मोहनलाई उपस्थित गराउन जिल्ला अदालत मकवानपुरले आदेशअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले आदेश दिएको प्रहरी निरिक्षक ललन राउत कुर्मीले बताएका छन् ।
उता अभियुक्त पक्राउ हुनु अघिनै पक्राउपुर्जी सार्वजनिक भएपछि हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा आरोप प्रत्यारोप सुरु भएको छ ।