प्रशासनद्वारा सवारी पास खारेज, तोकिएको समयमा मात्र पसल खोल्न पाउने
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हालसम्म जारी भएका सवारी पास खारेज गरेको छ । प्रशासान कार्यालयमा बुधबार बिहान बसेको कमाण्ड पोष्टको बैठकले लकडाउनलाई थप व्यवस्थित र कडा बनाउन आजबाट लागु हुने गरी सवारी पास खारेज गरेको हो ।
कार्यालयले लकडाउनलाई प्रभावकारी बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । कार्यालयका अनुसार आजबाट दूग्घजन्य पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने छ भने तरकारी खाद्यान्नका पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खोल्न दिने जनाएको छ ।
त्यस्तै प्रशासन कार्यालयले लकडाउनको अवधिमा अनुमतिपत्र आवश्यक नपर्ने सवारीको नामावली पनि सार्वजनिक गरेको छ ।
प्रशासन कार्यालयको नामावली अनुसार अब एम्बुलेन्स, शव वाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु, प्रेस परिचयपत्रका आधारमा पत्रकारहरु तथा संचारकर्मीहरु, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्श, फर्मानिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधि उत्पाद ढुवानी र र विक्रि वितरणमा संलग्न हुने जनशक्तिहरु, खानेपानी मर्मत संभार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा संलग्न जनशक्ति, ठूला खाद्य स्टोरमा संलग्न जनशक्ति, अत्यावश्यक बस्तु तथा सेवा ढुवानीमा संलग्न सवारीसाधन रहेका छन् ।
बैठकले यी बाहेकका अन्य कुनै पनि सवारी सवारीलाई कुनैपनि किसिमको अनुमतिपत्र जारी नहुने बताएको छ
देश लकडाउन भए देखि नै मकवानपुर जिल्लामा लकडाउन कार्यान्वयन त्यति प्रभावकारी नभएको भन्ने गुनासो बढ्दै गए पछि आजबाट कडाइका साथ लकडाउन लागु गर्ने निर्णय भएको हो ।
प्रशासन कार्यालयको यस्तो निर्णयसंगै हेटौँडाका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।