निजी अस्पताललाई कारबाही गर्न सिडिओलाई प्रदेश सरकारको निर्देशन
कोरोना संक्रमिणको डरले सामान्य बिरामीको समेत उपचार नगर्ने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाही गर्न प्रदेश सरकारलाई सिडिओलाई निर्देशन दिएको छ । प्रदेश २ सरकारले प्रदेश भित्रका आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले निजी अस्पतालमा उपचारका लागि गएका बिरामीलाई उपचार नै नगरी फर्काउने सबैलाई कारवाहीको दायरामा ल्याउन मुख्यमन्त्री लालबाबु राउतले सिडयोलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री राउतले हिजो मात्र बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने बताएका थिए ।
सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कारबाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको छ ।
निर्देशन अनुसार अब प्रदेश २ का प्रत्येक जिल्लाका सिडिओलाई स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको अवधीभर अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्ने÷गराउने समेतको अधिकार दिइएको छ ।
माथिल्लो निकायको कार्यक्षेत्र÷बिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस पठाउन सिडिओलाई निर्देशनमा भनिएको छ ।
निजी अस्पतालहहरुले बिरामीको सामान्य चेकजाँच नै नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीहरुसँग सामान्य मानवोचित व्यवहार नगरेको पाइएको प्रदेश सरकारले जनाएको छ ।
निजी अस्पतालले आधारभूत स्वास्थ्य सेवा समयमा उपलब्ध नगराउँदा काठमाडौं लग्ने क्रममा बिरामीको बाटोमै मृत्यु भएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रदेश सरकारले यस्तो अवस्थामा राज्य केवल मूकदर्शक बस्न नसक्ने जनाएको छ ।