भारतको धार्मिक सभामा सहभागी तीन नेपाली सप्तरीमा भेटिए

भारतको एक धार्मिक सभामा सहभागी तीन जना नेपाली सप्तरीमा भेटिएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन महत्वपुण भूमिका खेलेको भनिएको सो धार्मिक सभामा सहभागी भएर सप्तरी फर्केर लुकेर बसेको अवस्थामा प्रहरीले ती व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
भारतको नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा मार्चमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जनालाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बुधबार राजविराज नगरपालिका–४ स्थित मिनी मार्केट अगाडि घर भएका तीन जनालाई फेला पारिएको सप्तरी प्रहरीले जानाएको छ । उनकाअनुसार तीनै जनालाई घरबाट फेला पारी क्वारेन्टाइनमा पठाइएको छ ।
फेला परेका तीनै जना सप्तरीका ठूला व्यापारी रहेका छन् । उनीहरु केही दिनअघि मात्र दिल्लीबाट फर्किएको स्थानीयले बताएका छन् ।
सप्तरी प्रहरीले दिल्ली जमातमा सहभागी भएर आएका जिल्लाका आठ जनामध्ये तीन जना फेला पारिएको र अन्य पाँच जनाको खोजी भइरहेको जनाएको छ ।
यो सभामा सहभागी रौहतट, बारा र पर्साका २० जना दिल्लीमै क्वारेन्टाइनमा रहेका छन् ।











