हेटौंडाबाटै कोरोना परीक्षण शुरु
हेटौंडामा कोरोना भाइरस संक्रमण परीक्षणका लागि सबै तयारी पुरा भएको छ । कोरोना संक्रमण परिक्षणका लागि हेटौंडा–१० मा अवस्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबलाई व्यवस्थित गरी तयारी अवस्थामा राखिएको हो ।
केन्द्रको ल्याबमा आवश्यक सामग्री सहित आज बिहीबारबाट कोरोना परीक्षण गर्न लागिएको हो ।
वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले अहिलेसम्म अस्पताल, क्वारेन्टाइन तथा आइसोलेसनबाट नमुना स्वाब आइ नसकेको र ल्याब संचालनका लागि सबै आन्तरिक रूपमा सम्पूर्ण तयारी भइसकेको बताए । उनले बिरममीको नमुना (स्वाब)हरू प्राप्त हुने बित्तिकै परिक्षणको काम शुरुहुने र परिक्षण पश्चात तत्काल नतिजा उपलब्ध गराइने बताए ।
केन्द्रको ल्याबको व्यवस्थापन र संघीय सरकारले किट, औषधि र पीपीई लगायत आवश्यक सामग्री पठाएको तीन दिनपछि परीक्षण सुरु भएको हो ।
केन्द्रको ल्याबमा भाइरस, ब्याक्टेरिया, प्यारासाइटको प्रजाति अध्ययन गर्ने र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्ने पीसीआर मेसिन पाँच वर्षअघि देखि नै रहेको तर, परीक्षण किट र आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको सुवेदीले बताए ।
संघीय स्वास्थ्य मन्त्रालयको टोलीले ल्याब सञ्चालन गर्न आवश्यक अध्ययन समेत गरेको थियो। ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न सकिने र परीक्षण गरेको साढे दुई घण्टामा नै नतिजा प्राप्त हुन्छ सुवेदीको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्ने र मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल रहेको बताए ।
यसअघि विज्ञको अभावमा उक्त ल्याब प्रयोग विहिन अवसथामा रहेको थियो । २०७१ सालमा दाताको सहयोगमा स्थापित ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र असिस्टेन्ट गरी दुई जना प्राविधिक कर्मचारी रहेका छन् ।
ल्याबको नियमित सञ्चालन हुने हो भने हेटौंडामा नै भाइरस, ब्याक्टेरिया र प्यारासाइटको अध्ययन गरी उपचार सहज बनाउन सकिने सामाजिक मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईंले बताए ।
२०३५ सालमा स्थापित उक्त केन्द्रमा २१ जनाको दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन् । कार्यालयप्रमुख डा. यदुचन्द्र घिमिरे दुई साताअघि सरुवा भएपछि केन्द्र प्रमुख विहीन बनेको छ ।
स्रोतः इकान्तिपुर











