थाहा नगरको दरिलो संयन्त्र, टोल लकडाउनको जिम्मा वडा सदस्यलाइ
थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका गतिविधिमा समन्वय गर्न र अभिलेख राख्नका लागि नगरमा एउटा छुट्टै पाँच सदस्यीय सचिवालय बनाइएको छ । विहानदेखि दिउँसो भरीका सबै सूचना बेलुकी ५ बजे सचिवालयमा आईपुग्छन् ।
नगरभरी रहेको नौ वटै स्वास्थ्य संस्थाका विरामी परीक्षण समेतको अपडेट पनि ५ बजे आईपुग्छन् । दैनिक ज्वरोको विरामी कति आए नगरको सचिवालयमा अभिलेख हुन्छन् । तथ्याङ्क विश्लेषण गरिन्छ, अनि भोलिपल्टको योजना बनाइन्छ । यो थाहा नगरपालिकाको दैनिक काम नै हो ।
विदेशबाट आएकाहरुको कस्को कति दिन भयो भन्ने दिन दिनै नगरपालिकाले तथ्याङ्क अद्यावधिक गर्दछ । तथ्यांक मात्र होइन, खाद्यान्नको अवस्था, जनताका गुनासा आदि सबै ५ बजे सम्म नगरपालिकाले आफ्नो अभिलेख तयार गरिसकेको हुन्छ ।
दैनिक रुपमा प्राप्त तथ्यांक र समिक्षा सहितको प्रतिवेदन नगरपालिका माफाई लिङ हुने मात्र होइन, यो त सञ्चारकर्मी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, संघीय सरकार, स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय सबैतिर इमेल मार्फत पठाउने मेकानिजम थाहा नगरपालिकाले तयार गरेको छ । नगर प्रमुख लवशेर विष्टले भने, ‘गाउँ, टोलदेखिका सबै तथ्यांक राष्ट्रिय स्तरमा पुग्छ, यसले हामीलाई थप बलियो बनाएको छ ।’
त्यस्तै थाहा नगरपालिकाका १२ वटै वडा सदस्यलाई टोल टोलको जिम्मा दिएको छ । जिम्मा दिइएको टोलमा आउने नयाँ मानिस वा विदेशबाट आउने मानिस देख्ने बित्तिकै पहिले परामर्श दिने र यसपछि अवस्था अनुसार क्वारेन्टाईनमा लैजानु पर्ने भए वडा सदस्यले सिफारिस गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ ।
यदि घरमै बस्नुपर्ने अवस्था देखिए यसका लागि छुट्याईएको एक जना डाक्टर र २ जना नर्सको टोलीले रेखदेख गर्दछ । यसरी पहिचान भएका ६९ जना नियमित सम्पर्कमा रहेको मेयर विष्टले जानकारी दिए । उनीहरुलाई दैनिक फलोअप समेत हुने गरेको छ ।