हेटौंडाबाट रिफर गरीएकी राईको भरतपुर अस्पतालमा मृत्यु, स्वाब परीक्षण गरिँदै

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १६:४७
;

ज्वरो आएर उपचारका लागि गएकी एक विरामीको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ।

सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया उषाकुमारी राईको शुक्रबार विहान मृत्यु भएको हो। विरामी भएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेकी उनलाई त्यहाँबाट रिफर गरिएको थियो।

भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीका अनुसार बिहीबार राति राईलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएकी राईको विहान २ बजे मृत्यु भएको हो। 

मृत्यु भएकी युवतीको स्वाव परीक्षण गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए। स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइने र नतिजा नआएसम्म शव सुरक्षित राखिने उनले बताए। 

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने अधिकारीले जानकारी दिए। युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनको भनाइ छ।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो।

अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको छ। यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*