लकडाउन सुरुगरेसँगै बढ्यो घरेलु हिंसा
कोरोना भाइरस रोकथामका लागि लकडाउन सुरु गरेसँगै घरेलु हिंसाका उजुरी बढेको भारतीय राष्ट्रिय महिला आयोगले जनाएको छ ।
महिला आयोगकी अध्यक्ष रेखा शर्माले बिहीबार इमेलबाट धेरै उजुरी आएको जानकारी दिइन् । मार्चको पहिलो साता मात्रै आयोगमा १ सय १६ वटा उजुरी परेका थिए । यस्तै लकडाउनको अवधिमा मार्च २३ देखि ३१ सम्म २ सय ५७ वटा उजुरी आए । ‘मार्च २४ देखि अप्रिल १ सम्म राष्ट्रिय महिला आयोगले ६९ वटा घरेलु हिंसाका उजुरी पाएको थियो । र यो हरेक दिन वृद्धि हुँदैछ । मैले इमेलबाट प्रत्यक्ष उजुरी लिइरहेको छु, हरेक दिन एक वा दुईवटा उजुरी मैले पाएको छु, आज बिहीबार मैले एउटा उजुरी नैनीतालबाट आएको हेरेँ, जहाँबाट ती महिला दिल्लीसम्म आउन सक्दिनन्, उनका पतिले घरमा पिट्ने र दुव्र्यवहार गरिरहेका छन्, उनी लकडाउनको अवधिभरी बस्न सकिने होस्टल खोज्दैछिन्, उनी प्रहरीकहाँ पनि जान चाहन्नन्, किनकि, उनका पतिलाई प्रहरीले लग्यो भने पनि उनी सासू, ससूरासँगै बस्नुपर्छ । र दुव्र्यवहार जारी रहनेछ,’ अध्यक्ष शर्माले जानकारी दिइन् ।
लकडाउनको अवधिमा भिन्न प्रकृतिका उजुरी आउने गरेको पनि अध्यक्ष शर्माले बताइन् । उनले भनेकी छन्, ‘पीडित महिलाहरु प्रहरीकहाँ पुग्न सक्क्दैनन्, र धेरै केसमा उनीहरु प्रहरीलाई गुहार्न पनि सक्दैनन् । यदी पतिलाई प्रहरीले लगे पनि घर छोड्न सक्दैनन् ।’
यस्तै टेलिफोन मार्फत पनि आफूहरुकहाँ उजुरी आइरहेको आयोगकी अध्यक्षले बताएकी छन् । शर्माका अनुसार महिला आयोगमा लकडाउनको अवधिमा घरेलु हिंसाका घटना ६९ वटा र १५ वटा घटना शोषणका छन् । यस्तै दाइजो, बलात्कार तथा बलात्कार प्रयासका घटना पनि आयोगमा आउने गरेको बताइएको छ । सबैभन्दा धेरै उजुरी उत्तर प्रदेशबाट र क्रमशः दिल्ली, बिहार, मध्य प्रदेश, महाराष्ट्रबाट आउने गरेको छ ।