कोरोना प्रकोपमा ह्याकरको बिगबिगी
विश्व अहिले कोरोना भाइरसको महामारीबाट प्रताडित छ । कोरोना संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् ।
संकटका बीचमा ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर वैज्ञानिकहरू पनि एकजुट भएका छन् । विश्वका साइबर सुरक्षासम्बन्धी करिब चार सय जना स्वयंसेवी विज्ञहरूले सहकार्य सुरु गरेका हुन् ।
साइबर सेक्युरिटी विशेषज्ञहरूले बुधबार नोबल कोरोना भाइरससँग सम्बन्धी ह्याकिङविरुद्ध लड्नका लागि एउटा समूह बनाएका छन् । कोभिड-१९ लिग नामक उक्त ग्रुपमा विश्वका ४० देशका स्वयंसेवी वैज्ञानिकहरू सामेल छन् । जसमा माइक्रोसफ्ट तथा अमेजनजस्ता ठूला कम्पनीका वरिष्ठ पदहरूमा काम गरिरहेका विज्ञहरू समेत छन् ।
उक्त ग्रुपमा चारजना व्यवस्थापकमध्ये एक मार्क रोजर्सका अनुसार, कोरोना महामारीसँग सम्बन्धित चिकित्सा सुविधा तथा अन्य आवश्यक सामग्रीसम्बन्धी विषयलाई निहुँ बनाएर साइबर हमला गर्ने ह्याकरहरू पहिलो निसानामा हुनेछन् ।
आफूले यसअघि पनि स्वास्थ्यसम्बन्धी संस्थाहरूमाथि हुने ह्याकिङका विषयमा काम गरिरहेकोभन्दै अहिले विश्वका धेरै मानिसहरूले घरमै बसेर अनलाइनबाट काम गरिरहेको अवस्थामा सञ्चार नेटवर्क तथा सेवालाई ह्याकरबाट बचाउनु निकै चुनौतीपूर्ण रहेको छ ।
उनका अनुसार, कोरोनालाई निहुँ बनाएर साइबर अपराधीहरूले गरिरहेका ह्याकरका प्रयासहरू अभूतपूर्व रहेका र उनीहरूले हरेक समय र हरेक भाषामा सन्देश पठाएर प्रयोगकर्तालाई आफ्नो फन्दामा पार्ने गरेका छन् ।
उनका अनुसार, साइबर अपराधविरुद्धको लडाइँमा विश्वव्यापी सहकार्यको पछिल्लो कदम निकै महत्त्वपूर्ण छ । यस्तो सहकार्य विश्वमा पहिलोपटक सम्भव भएको उनको दाबी छ ।
एजेन्सी