एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरसको संक्रमण

हेटौडा न्युज
२२ चैत्र २०७६, शनिबार १८:३३
;

बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका छन् । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो । 

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । ‘बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो ।

त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दथे । सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, ‘स्वास्थ्य परीक्षणको क्रममा ९ जना नेपालीलाई पोजिटिभ देखिएको हो ।’उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन ।

बहराइनको स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबारसम्म १२ नेपाली सहित २ सय ८६ जनाको उपचार भइरहेको छ । ३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर वा क्याम्प फर्किसकेका छन् । ४ जनाको मृत्यु भएको छ ।

हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। राजदूत सुन्दासले बहराइनमा उपचार भएर घर फर्किनेको संख्या खाडीमा सबैभन्दा बढी रहेको बताए । उनले बहराइनले संक्रमण नियन्त्रणलाई उल्लंघन गर्नेलाई तीन महिना जेल र एकदेखि १० हजार दिनार जरिवाना तोकिएको भन्दै सचेत रहन नेपाली समुदायलाई आग्रह गरेका छन् ।

ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गार्‍हो भएमा तुरुन्त ४४४ मा फोन गर्नको लागि अनुरोध गरिएको छ । स्रोतः कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*