कोरोनाको आशंकामा बागमती प्रदेशका २ सय ३ जना आईसोलेसनमा
बागमती प्रदेशका २ सय ३ जनालाई कोरोनाको आंशकामा आइसोलेसनमा राखिएको छ । आशंका गरिएका मध्येबाट १ सय ३३ जनाको स्वाव परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । त्यस मध्ये पनि १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।
बागमती प्रदेशका १३ जिल्लामा ६ सय ५१ जना क्वारेन्टाइनमा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जनाएको छ । सुवेदीका अनुसार २४ घण्टायता ११ जनालाई आइसोलेसनमा राखिएको छ । थप १ शंकास्पदलाई आइसीयुमा राखेर उपचार भइरहेको छ । प्रदेशका १३ जिल्लामा २ हजार ८३ क्वारेन्टाइन शैय्या निर्माण गरिएको मन्त्रालयको तथ्यांक छ ।
प्रदेशभित्र ५ सय ४९ आईसोलेसन शैय्या, १ सय ७८ आईसीयु शैय्या र ६ सय ९२ थान पीपीईको प्रबन्ध भएको प्रवक्ता सुवेदीले बताएका छन् । त्यस्तै, थप १ हजार १ सय ४६ क्वारेन्टाइन शैय्या, १२सय २९ वटा आईसोलेशन शैय्या र २३ वटा आईसीयु शैय्या समेत तयारीको क्रममा रहेको उनले जानकारी दिए ।
कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर २ सय ५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स ७ सय १३, हेल्पर÷नर्स सहयोगी ४ सय ७५ र १ सय ५७ जना ल्याबोरेटरी प्रर्सनलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।











