नेपालमा एकैसाथ तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ पुग्यो
नेपालमा एकैसाथ अरु तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण पाइएको छ भने अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् ।
यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो । ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो । पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको जनाइएको छ ।
आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा रहेका छन् । २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ । क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी नवौँ संक्रमण कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो । तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।











