एनआरएनए दक्षिण कोरियाको नेपाललाई चार हजार कोरोना परिक्षण किट्स सहयोग

गैरआवासीय नेपाली सङ्घ कोरियाले नेपाललाई चार हजार कोरोना परिक्षण किट्स सहयोग गर्ने भएको छ । यसअघि दुई हजार कोरोना भाइरस परिक्षण किट्स सहयोग पठाउने निर्णय गरेको एनआरएनए दक्षिण कोरियाले नेपालका लागि थप दुई हजार कोरोना भाइरस परिक्षण किट्स सहित स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको हो ।
शनिबार एनआरएनए दक्षिण कोरियाले एक पत्र जारी गर्दै नेपाल पठाउने तयारीमा रहेको चार हजार किट्स २४ घण्टाभित्र नै सुरक्षित रुपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता रहेको बताएको छ । कोरोना संक्रमणका कारण विमान उडान तालिका अनिश्चित बनेपछि खरिद गरिएको किट्स नेपाल पठाउन समस्या रहेको र उक्त किट्स सुरक्षित रुपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको जनाएको छ ।
एनआरएनएका अनुसार उक्त किट्स एक हप्ताअघि नै नेपाल आइपुग्नु पर्ने थियो तर ती किट्स कोरोना भाइरस सङ्क्रमणकै कारण विमान उडान प्रभावित भए पछि नेपाल पठाउन समस्या भएको जनाएको छ । ती किट्स अझै नेपाल कहिले पुग्छ भन्ने अन्योल कायमै रहेको बताएको छ ।
कोरियन एअरको सउल–काठमाण्डौ चार्टर्ड उडान तालिका निश्चित भएसँगै यथासक्दो छिटो नेपाल सरकार समक्ष सामग्री हस्तान्तरण गरिने एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।
पत्र अनुसार ती किट्स बाहेक अन्य स्वास्थ्य सामग्री अन्तर्गत पीपीई सेट दुई हजार थान, एन ९५ मास्क १० हजार, सर्जिकल मास्क २० हजार, ग्लास दुई हजार , प्रोटेक्टिङ भाइजर दुई हजार , पञ्जा १० हजार र पाँच सय थर्मोमिटर रहेको छ । यी सामग्री भने शनिबार नै चीनको ग्वान्जाउमा रहेको नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाइने जनाइएको छ ।
ती स्वास्थ्य सामग्री नेपाल एअरलायन्सको विमान आगामी चार्टर्ड गरिएका बखत नेपाल पुर्याइने छ । दक्षिण कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि ती स्वास्थ्य सामग्री चीनमै खरिद गरिएको हो ।











