नेपालमा कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पुष्टि

नेपालमा पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण देखिएको थियो । शुक्रबार एकैदिन ३ जनामा कोरोना संक्रमण देखिए पछि पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन नयाँ संक्रमित मध्ये कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी नेपालमा कोरोना पुष्टि भएका चौथो संक्रमितका आफन्त हुन् । चौथो संक्रमित दुबईबाट नेपाल आएका थिए ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारका अनुसार चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका उनमा कोरोना पुष्टि भएको थियो । अहिले उनकै आफन्त कैलालीकी स्थानिय ३४ वर्षीया महिलामा संक्रमण देखिएको हो ।
यसलाई कोरोना संक्रमणको लोकल ट्रान्समिसन भनिन्छ । त्यसैले विदेशबाट आएका कोरोना संक्रमित वा कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण भएका विरामीहरुको संम्र्पकबाट टाढा रहनु पर्छ ।
थप तीन जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा एक जना निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।











