वन्यजन्तु र काठ तस्करीका लागि निकुञ्ज प्रवेश गरेका २८ जना पक्राउ
लकडाउन सुरु भए यता वन्यजन्तु र काठ तस्करीका लागि निकुञ्ज प्रवेश गरेका २८ जना पक्राउ परेका छन् । वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करी गर्न लागेका १८ जनालाई पक्राउ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
पक्राउ परेका सबै निकुञ्जको थुनुवा कक्षमा रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रकाउ परेका सबैको स्वास्थ्य जाँच गरी थुनामा राखिएको बरालले जनाएको छ ।
निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा छ्याछ्याप्ती देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सक्रिय देखिएको जनाईएको छ ।
निकुञ्जभित्र सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोस्ट छन् । वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोस्टबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्वीप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।











