नक्कली चिकित्सक बनेर झापा पुगेका दुई युवा प्रहरी पक्राउ

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकामा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।
काठमाण्डौदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने खुलेको थियो ।
दुवै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वरेण्टीनमा पठाउने भएको छ भने उनीहरुले प्रयोग गरेको कार प्रहरी कार्यालयमै राखिएको छ ।
प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुवै लागू औषधको खोजीमाआइपुगेको आशङ्का गरिएको बताउनुभएको छ । रासस