कोरोनाको कहरः सुदुरपश्चिममा धेरै सङ्क्रमण तर परीक्षण न्यून
कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सुदुरपश्चिम प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या चार पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती चारजना सङ्क्रमितमध्ये तीनजना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीयस्तरमै सङ्क्रमण भएको पाइएको छ ।
जानकारहरूका अनुसार 'लकडाउन' अघि र पछिका केही दिनहरूमा भारतबाट करिब डेढ लाखको सङ्ख्यामा मानिसहरू सुदुरपश्चिम भित्रिएका थिए ।
तर तीमध्ये दुई सयजनाको समेत परीक्षण हुन सकेको छैन भन्दै उनीहरूले परीक्षणलाई तीव्र बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।
न्यून परीक्षणको त्रास
यस क्षेत्रमा एक हजार मात्र परीक्षण किट रहेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको मेसिनले दिनमा चारवटा मात्र स्वाबको परीक्षण गर्न सक्छ ।
फागुन १ गतेदेखि कोरोनाभाइरस सङ्क्रमण जाँच्न 'थ्रोट स्वाब' परीक्षणका लागि हालसम्म १५१ वटा पठाइएका मध्ये १८ वटा नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी छ।
गएको मङ्गलबार जाँच्ने मेसिन धनगढी पुर्याइएपछि शुक्रवारदेखि मात्र यहीँबाट परीक्षण सुरु भएको थियो । त्यहाँ परीक्षण गरिएका कुनै पनि नमुनामा सङ्क्रमण नभेटिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।
वरिष्ठ फिजिसियन डा शुभेषराज कायस्थले अहिलेको स्थितिमा तदारुकताका साथ परीक्षण गर्नु नितान्त आवश्यक रहेको बताएका छन्।
"अब सरकारले यहाँको स्रोत आकलन गरि हाल्नु पर्यो। विस्फोट हुने सम्भावना देखिएको छ।"
"पहाडी जिल्लामा पनि ठूलो सङ्ख्यामा मानिस भित्रिएका छन्। अहिलेसम्म बाहिरबाट आएकाहरूमा मात्र परीक्षण गरिएको छ अब समुदायस्तरमा जानु पर्यो।"
"समुदायस्तरमा फैलिएको छ भने सरकारले ठोस कदम चाल्नु पर्छ। निजी अस्पतालहरू पनि राम्रो व्यवस्था र सुविधायुक्त छन् तिनलाई पनि सरकारले प्रयोग गर्नुपर्छ," उनले भने।
कति छन् क्वारन्टीनमा?
सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका भिविन्न स्थानीय तहहरूले व्यवस्थापन गरेका क्वारन्टीनस्थलमा अहिले २,३१७ जना राखिएका छन्।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले 'लकडाउन'लाई कडा गरिने र सम्भावित सङ्क्रमण रोक्न घरघरबाट पहिचान गरिने प्रयास भइरहेको बताए।
सेती र महाकाली अञ्चल अस्पतालमा विशेष व्यवस्था मिलाइएको र जिल्ला अस्पतालहरूलाई समेत व्यवस्थित गरिएको बताइएको छ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले भने, "एकैचोटी ३५० देखि ४०० जनालाई राखेर उपचार दिन सकिने गरी व्यवस्था मिलाइएको छ।"
तर स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने सामग्रीहरू आवश्यकता अनुसारको नरहेको‚ आएका सामग्री पनि अधुरो रहेको उनीहरूले बताएका छन्।
साधनस्रोतको कमीका बावजुद सेवा दिइरहेका प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरू पनि केही मानिस विना लक्षण सङ्क्रमित देखिएपछि चिन्तित भएका छन्।
नागरिक समाजका सदस्य प्रमोद पाठकले परीक्षणको दायरा बढाउनु पर्ने भन्दै बाहिरबाट आएकाहरूको छिटै पहिचान पनि गरिनुपर्ने बताए।
सामान्य झाडापखालामा समेत मानिसहरूले ज्यान गुमाउनु पर्ने स्थिति रहेकाले कोरोनाभाइरससँग जुझ्ने मुख्य उपाय भनेकै सङ्क्रमण भित्रिन नदिनु अनि भित्रिएकाहरूबाट फैलन नदिनु रहेको विषयमा उक्त प्रदेशका सबै सहमत छन्।
क-कसलाई सङ्क्रमण ?
धनगढीका पहिलो सङ्क्रमित ३४ वर्षीय युवा थिए भने अहिले उनकी भाउजुमा पनि सङ्क्रमण पाइएको छ।
नेपालमा स्थानीयस्तरमै कोरोना सङ्क्रमण देखिएको यी पहिलो हो।
अर्का सङ्क्रमित कैलालीको लम्की निवासी पुरुष हुन्। २१ वर्षीय ती युवक केही समय अघि भारतको मुम्बईबाट आएका थिए।
क्वारन्टीनमा राखिएका उनमा शुक्रवार साँझ कोरोनासङ्क्रमण भएको पुष्टि भएको हो।
कञ्चनपुरको बेतकोटका ४१ वर्षीय पुरुष देशका नवौँ सङ्क्रमितका रूपमा पाइएका छन्। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्डमा थिए।
नेपाल आएपछि क्वारन्टीनमा राखिएका उनमा पनि शुक्रवार गरिएको स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनीहरूको उपचार थालिएको छ । तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्रोतले जनाएको छ । स्रोतः विविसी नेपाली