हेटौंडामा कोरोना संक्रमणको परीक्षण सुस्त

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १७:४९
;

संघीय सकारले कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको बताइरहेको समयमा बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना (कोभिड–१९) को संक्रमणको परीक्षण सुस्त देखिएको छ ।

परीक्षण सुरु गरेको चौथो दिनसम्ममा हेटौंडामा २५ जनाको मात्र कोरोना संक्रमणको परीक्षण भएको छ। हालसम्म गरिएको सबै नमुना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए।

उनका अनुसार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन तथा मकवानपुर र अन्य जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका बिरामीको प्राप्त स्वाबबाट कोरानाको परीक्षण गरिएको हो। प्रयोगशालामा नमुना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ।

चितवनमा पनि कोरोना भाइरसको संक्रमणको परीक्षण गर्न मिल्ने पीसीआर मेसिन जडान भएको कारण अब हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहट जिल्लाको बिराकीको स्वाब परीक्षण हुनेछ । ‘अन्य जिल्लाबाट परीक्षणका लागि स्वाब प्राप्त भएमा त्यो पनि हुनेछ। तर, अहिलेलाई ५ जिल्लालाई लक्षित गरेर परीक्षण भइरहेको छ’, सवेदीले भने।

उनले उपत्यकामा पनि दैनिक मुस्किलले १२ जनाको परीक्षण भइरहेको अवस्थामा हेटौंडामा सुस्त भयो भन्न नमिल्ने तर्क गरे। ‘र्यापिड परीक्षण गर्ने विषयमा हामी छलफलमै छौं’, उनले भने। मन्त्रालयले हाल प्रदेशभर निर्माण भएको आइसोलेसन तथा क्वारेन्टाइनको निरीक्षण गरिरहेको र यसको प्रतिवेदन तयार भएपछि अन्य विषयमा छलफल हुने बताए।

उनका अनुसार एकपटकमा ६० वटा नमुना परीक्षण गर्न मिल्ने र त्यसको रिपोर्ट आउन सवा दुईघण्टा समय लाग्छ। उनले भने, ‘हामीले हाल विभिन्न स्थानमा क्वारेन्टाइन र आइसोलेसनमा रहेका र अस्पतालबाट सिफारिस भएर आएकाहरूको मात्र परीक्षण गरेका कारण त्यसो भएको हो ।’, ५ सय जनाको मात्र परीक्षण गर्न मिल्ने सामग्री संघीय सरकारबाट प्राप्त भएको कारण र्यापिड परीक्षण गर्न नसकिएको उनले बताए। ‘हाम्रो प्रदेशको उपत्यका, काभ्रे, चितवनमा पनि परीक्षण गर्ने तयारी भइरहेको छ। त्यसकारण पनि धेरै परीक्षणका लागि स्वाब प्राप्त भइरहेका छैनन्’, उनले भने।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले र्यापिड परीक्षण गर्ने विषयमा मन्त्रालयमा निर्णय भइनसकेको बताए। ‘हामी छलफलका क्रममा रहेका छौं। विदेशबाट फर्किएका र हाल क्वारेन्टाइनमा रहेकाहरूको तत्काल परीक्षण गर्नुपर्ने विषयमा सबैको सहमति रहेको छ’, उनले भने। संघीय र स्थानीय सरकारसँग समन्वय गरेर यस विषयलाई अगाडि बढाइने उनले स्पष्ट पारे। स्रोतः कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*