कोरोनाको कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु
कोरोनाको संक्रमणबाट उत्तर अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्री महोम्मद जिब्रिलको मृत्यु भएको छ । दुई हप्ता अघि कायरो ९इजिप्ट० स्थित अस्पताल भर्ना भएका ६८ वर्षीय उनको आइतबार मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सुरुमा ‘हर्ट अट्याक’ भएपछि मार्च २१ मा उनलाई कायरोस्थित गानजुरी विशेष अस्पताल भर्ना गरिएको थियो। अस्पताल निर्देशकका अनुसार स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनको त्यहीँ उपचार भइरहेको थियो।
गद्दाफी सरकारका आर्थिक सल्लाहकार रहेका जिब्रिलले सन् २०११ मा उनैलाई अपदस्थ गर्दै लिबियाको सत्ताको सम्हालेका थिए। सन् २०१२ देखि आफ्नै पार्टी नेशनल फोर्स अलाइन्स गठन गरी उनी सक्रिय राजनीतिमा थिए।
‘सुरूमा उनको स्वास्थ्यमा सुधारका संकेतहरु देखिएका थिए तर आइतबार बिहानैदेखि फेरि स्वास्थ्य बिग्रियो’, अस्पतालका निर्देशक हिसाम ह्वाग्डीले एएफपीसँग भनेका छन्, ‘यो आधिकारिक हो स्थानीय समयअनुसार आइतबार २ बजे दिउँसो उनको मृत्यु भयो।’











