लकडाउन अवज्ञा गर्दै मेला सञ्चालन गरेको आरोपमा चार वडाध्यक्षसहित नौजना पक्राउ
लकडाउन अवज्ञा गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा चारजना वडाध्यक्षसहित नौजनालाई प्रहरीले पक्राउ गरेको छ । विश्वभर महामारी फैलिरहेको बेला मेला संञ्चालन गरेको भन्दै छबिसपाथीभेरा गाउँपालिकाका चारजना वडाध्यक्षसहित नौजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको र लकडाउन उल्लंघनमा दोषी ठहर भए संक्रा’मक रोग ऐन, २०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् ।
पक्राउ पर्नेमा छबिसपाथीभेरा– २ का वडाध्यक्ष विकास अयडी, वडा नं। ३ का अध्यक्ष केशवराज जोशी, वडा नं। ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका छन् ।
पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समितिका कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी छन् ।
यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको इन्स्पेक्टर बोहराले जनाएको छ ।










