काठमाडौंमा रोकिएका नागरिकलाई राहत, भोली र पर्सी यात्रा खुल्ला
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणको लागि सरकारले केही दिनदेखि लकडाउनको आह्वान गरेको छ । लकडाउन भएसँगै काठमाडौंमा बसिरहेका धेरै मानिसहरु हिँडेर नै बाहिर जान खोजिरहेका छन् । त्यो पनि दिउँसोमा हिँड्न नपाउने भएपछि उनीहरु रातिराति टाढाटाढाको यात्रामा निस्किएका छन् ।
यसैबीच सरकारले अब काठमाडौंबाहिर जान चाहनेलाई भोलि र पर्सी काठमाडौं बाहिर जान दिने भएको छ । बिहिबार रक्षामन्त्रालयमा ईश्वर पोखरेलको नेतृत्वमा बसेका सरोकारवाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यकाबाहिर जान मानिसहरुलाई दिने निर्णय गरेको हो ।
लकडाउन थप लम्बिने सम्भावना भएसँगै सरकारले काठमाडौंमा आपूर्तिमा पनि समस्या आउन सक्ने भन्दै यस्तो निर्णय गरेको हो । अब गाउँगाउँ जान चाहने मानिसहरुले भोलि र पर्सीमा काठमाडौं छोड्न पाउनेछन् ।
त्यसका लागि सरकारले यातायात व्यवसायीहरुसँग पनि कुरा गर्ने भएको छ ।