स्थानीय सरकार नै मान्दैन मन्त्रालयको निर्देशन
चितवनको रत्ननगर नगरपालिका प्रमुखले नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको
निर्देशनको उलघंन गरेका छन् । रत्ननगर नगरपालिका मेयर नारायण बनल बुधबार नगरपालिकामा ज्याला मजदुरी गरेर जीविका चलाउने र विपन्न नागरिकहरुलाई राहत वितरण गरेकोे फोटो खिचाउदै मन्त्रालयको निर्देशनको अवहेलना गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनको समय अवधिमा समस्यामा परेका विपन्न र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको फोटो, भिडियो नखिच्न र प्रचार नगर्न
निर्देशन दिएको थियो । तर स्थानीय सरकारहरुले त्यसको बेवास्ता गरेका छन् । राहत वितरणको सस्तो प्रचारबाजीले जनमानसमा राम्रो सन्देश नजानेतर्फ स्थानीय तहहरुको ध्यानाकर्षण गराए पनि स्थानीय सरकारहरुले यसको ख्याल गरेको पाइँदैन ।
नगरपालिकाले नगरका १६ वटा वडामा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका अति विपन्नलाई परिवार संख्याका आधारमा पाँच किलो देखि २५ किलो चमल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन र हात धुने साबुन वितरण गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले बुधवार वडा नं ३ र १४ का अति विपन्न परिवारलाई पनि राहत वितरण गरेको जनाएको छ ।