कैलाश गाउँपालिकालाई नेता बानियाँको २ लाख सहयोग

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २२:४१
;

बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता, कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित कैलाश गाउँपालिकालाई कोरोनाविरुद्ध अभियानका लागि २ लाख रुपियाँ सहयोग गरेका छन् । 

विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले मकवानपुरकै विकट कैलाश गाउँपालिकालाई बिहिबार २ लाख रुपियाँ सहयोग गरेका हुन् । 

मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद समेत रहनुभएका नेता बानियाँले केहीदिन अघि विज्ञप्ती निकालेर घोषणा गरे बमोजिम कैलाश गाउँपालिका अध्यक्ष टंक मुक्तानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा चेक हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण तथा क्वारेन्टाई वार्ड निरिक्षणको क्रममा नेता बानियाँले मकवानपुरकै विकट मध्येको एक कैलाश गाउँपालिकामा स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएकोले महामारीको प्रकोपबाट बच्न चाहिने स्वास्थ्य सामाग्रीहरु तत्काल उपलब्ध गराउन संघिय सरकार तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले राहात वितरणमा विभिन्न स्थानहरुमा राजनीतिकरण भैरहेको सुनिएकोले यो विपतको बेलामा हुनेखाने र विपन्न पहिचान गरेको गाउँपालिकाले निष्पक्षरुपमा एकद्वार प्रणालीबाट खाद्य सामाग्रीहरु वितरण गर्न आग्रह गरेका छन् ।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ का संघिय सांसद विरोध खतिवडाले अहिले गाउँगाउँमा स्वास्थ्यको चेतना जगाउँदै सचेतना फैलाउन आवश्यक रहेको बताउँदै विकट गाउँपालिकाहरुमा स्वास्थ्य सामाग्री नआईपुगेको कारण समस्या परेकोले आफूले संघिय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने बताएका छन् । 

नेता खतिवडाले विश्वलेनै सामना गर्नुपरेको यो विपतमा दैनिक ज्यालादारीमा काम गरेर खानुपर्ने बाध्यता भएकालाई पहिलो प्राथमिकतामा राखेर कसैलार्य काखा र कसैलाई पाखा नगरी एकद्वार प्रणालीबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य ओम घलानले कैलाश गाउँपालिका छिर्ने प्रत्येक नाकामा ढाट राखेर स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी राखेर कडारुपमा चेकजाँच र निरिक्षण गर्ने व्यवस्था मिलाउन गाउँपालिकालाई आग्रह गरेका छन् ।

कैलाश गाउँपालिका अध्यक्ष मुक्तानले आफूले गाउँपालिकाको विभिन्न ४ स्थानमा क्वारेनटाइन वार्ड राख्ने प्रयास गरेपनि स्वास्थ्य सामाग्री अभावका कारण अफ्ठ्यारो परेको बताउँदै विपत व्यवस्थापन कोषमा रकम हुँदाहुँदै पनि स्वास्थ्य सामाग्रीहरु खरिद गर्न नसकिएको बताएका छन् ।

कैलाश गाउँपालिकाको क्वारेनटाइन वार्ड निरिक्षण तथा रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्य दीपेन्द्र मल्ल, कांग्रेस २ ख को क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कैलाश ३ नम्बर वडा अध्यक्ष देवलाल बल, संचारकर्मी शिवकुमार काशी, सुजन विडारी, गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्मा, कैलाश गाउँपालिकाका स्वास्थ्यचौकी प्रमूख श्यामसुन्दर महतोलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*