कोरोना विरुद्धको लडाइमा थाहा नगर, सार्वजनिक हुन्छ दैनिक गतिविधिको प्रतिवेदन
मकवानपुरको थाहा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्नका लागि भाइरस विरुद्ध विभिन्न कार्यहरु संचालन गरि दैनिक रुपमा सो कार्यको प्रतिवेदन समेत तयार पारी सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण लागि गरेको प्रयासका गतिविधिहरु दैनिक रुपमा सार्वजनिक गर्ने संयन्त्र नै खडा गरेर सोहि अनुसार काम गरिरहेको हो ।
कोरना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय मार्फत यस्तो काम भैरहेको र कामको प्रभावकारिता समेत बुझ्ने गरेको थाहा नगरपालिकाका प्रमुख नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।
सचिवालयले तयार गरेको नगरका गतिविधिहरुको प्रतिवेदन संचार माध्यम देखि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार, गृह मन्त्रालय, मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, जिल्ला प्रशासशन कार्यालय मकवानपुर, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा पठाउने र नगरपालिकाको वेभसाइट र फेसबुक पेजमा दैनिक अद्यावधिक गर्ने गरेको मेयर विष्ट बताउछन् ।