रौतहटमा राहत वितरण नहुँदा मुसहरबस्ती मर्कामा

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार २१:१२
;

नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि गत चैत ११ गते देखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि चलिरहेकाले सबैभन्दा बढी मार्कामा दैनिक ज्यालदारी गर्ने मजदुर एवम् विपन्न परिवारहरु परेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका विपन्न समुदायका व्यक्तिहरु दैनिक कामकाज ठप्प हुँदा उनीहरुलाई विहान बेलुकि छाक टार्न समेत समस्या परेको छ । आज कमाएर आजै खाने परिवारमा चुल्हो नबल्ने अवस्था आउन थालिसकेको छ । ‘हुँदाखाने’ समुदायका मानिसहरुको समस्यालाई मध्यनजर गर्दै स्थानियतहले राहत वितरण गरिरहेका छन् ।

तर रौतहटको चन्द्रपुर नगरपालिकामा राहत वितरणमा ढिलाइ हुँदा ‘हुँदाखाने’ परिवारहरु समस्यामा पर्न थालेका छन् । 

""

चन्द्रपुर नगरपालिका वडा नम्बर ९ मुसहर वस्तीमा निवासी मुसहर समुदायका मानिसहरुलाई लकडाउनले गर्दा ज्यानै लिनेको भन्ने पिरले सताउन थालेको छ । निकै पिछडिएको यो समदायका अधिकांस मानिसहरु दैनिक ज्यालादारी गरेर आफ्नो छाक टार्ने गर्दछन् । तर लकडाउनले गर्दा उनीहरुको कमाइ ठप्प भएको छ र घरमा भएका राशनहरु पनि सकिन थालिसेको छ । यस्तो अवस्थामा चन्द्रपुर नगरपालिकाले समयमै राहत वितरण नगर्दा के खाने भन्ने चिन्ताले सताइरहेको छ । 

""

सो नगरपालिका वडा नंम्बर ९ ले राहत वितरण गर्नका लागि भनेर एक हप्ताभन्दा अगाडि नै उनीहरुको नामावली संकलन गरेर लगे पनि हालसम्म वितरण नगरेको स्थानिय दुलारी देवी बताउछिन् । उनले नाम संकलन गरेपछि चाँडै राहत पाइने आश लागेता पनि आजसम्म राहत नपाउँदा निराशा छाएको बताउँदै जति सक्दो चाँडो राहत वितरण गर्न माग गरेकि छिन् । उनले लकडाउन गर्दा कमाउन नपाएको भन्दै घरको अन्न पनि सकिन लागेकाले के खाने हो भन्ने चिन्ताले सताउन थालेको बताइन् । ‘घरमा दाल,चामल, तरकारी सबै सकिन्न लागि सक्यो’ उनले भनिन् , ‘हामी त अचेल जाउलो,  खिचडी पकाएर खान थालेका छौँ । यो पनि कति धेरै दिनलाई पुग्ने छैन्, त्यसपछि के खाने थाहा छैन् ।’

अर्की स्थानिय ज्ञानुदेवीले पनि लकडाउनले गर्दा काम गर्न नपाउँदा कमाइ नभएकाले अब के खाने र बच्चालाई के खुवाउने भन्ने चिन्ताले सताउन लागेको गुनासो गरिन् । उनले बाहिर कामगर्न निस्कदा प्रहरीले भाइरस लाग्छ घरमै बस्नुपर्छ भनेर पठाउने गरेको भन्दै अब गरिबीको कारण मर्नुपर्ने अवस्था आइसकेको बताइन् । ‘बाहिर कामगर्न गयो भने प्रहरीले कोरोना भाइरस लाग्छ घरमै बस्नुपर्छ भनेर घर फर्कादिन्छन्’ , उनले गुनासो गरिन् , ‘कामै नगरी घरमै बस्यो भने घरमा चुल्हो बल्दैन् , बालबच्चा भोकभोकै रहन्छन् । वडाले दिने भनेको राहत पनि कहिले आउने हो थाहा छैन् ।’

""

आफुहरु भोकले मरे पनि कोरोना भाइरसले म¥यो भनेर नेताहरुले लाश पनि उठ्न नदिने होला भन्दै नेताहरुले चुनावको बेला गरेका वाचाहरु बिर्सिएका गुनासो स्थानिय जगिया माझीको छ । उनले आफुहरु भोकले मरि सकेपछि दिएको राहत कुनै काम नभएको भन्दै यथासक्य चाँडो राहत वितरण गर्न जनप्रतिनिधिसँग आग्रहगरिन् । ‘हामी भोकले तड्पिएर म¥यौ भनेपनि नेताहरुले भाइरसले म¥यो भन्छन् होला’ उनले आक्रोश व्यक्त गर्दै भनिन् , ‘त्यसपछि हाम्रो लाश पनि उठ्दैन । हामी गरिबले मरेपछि पनि राहत नपाउने भयौँ ।’ गरिबीको कारण ज्यान गुमाउने अवस्था आउँदा पनि राहत वितरणमा जनप्रतिनिधीले गरेको ढिला सुस्ती प्रति उनीहरुको गुनासो रहेको छ ।

यस सम्बन्धमा चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द दुलालसँग प्रतिक्रिया लिदाँ उनले राहत पाउनेको नामावली संकलन गर्ने काम सकिएकाले अब केही दिनभित्रै प्रक्रिया पु¥याएर राहत वितरण गर्ने बताए । उनले सहि व्यक्तिलाई राहत पुगोस् भनेर आफुहरु लागि परेकाले केही ढिलाइ भएको स्विकार्दै आफ्नो वार्डमा राहत बाड्ने काम सोही मुसहर वस्तीबाट सुरुवात गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अझैपनि राहत वडाले वा नगरपालिकाले खरिद गर्ने भन्ने निर्णय नभइ सकेकाले राहत वितरण केही समय लम्बिन सक्ने बताउँदै सबै प्रक्रिया पुरा गरेपछि सवैदलिय समितिको रोहवर राहत वितरण गर्ने योजना रहेको सुनाए ।

चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले केन्द्रिय सरकारले मापदण्ड तोकिदिएकाले सोही मापदण्ड अनुसार बाड्ने तयारी गर्दा ढिलाइ भएको भन्दै आफुले राहत वितरण कार्य छिटो सक्न दश वटै वडामा वडा अध्यक्षहरुलाई निर्देशन दिइसकेको बताए ।

नगरपालिकाले आफ्नै मापदण्ड बनाएर राहत वितरण गर्न लागेको अवस्थामा केन्द्रिय सरकार र प्रदेश सरकारको अर्कै मापदण्ड आएकाले समस्या परेकाले केही ढिला हुन गएको उनको भनाइ छ ।

यता स्थानियहरु भने सबै कागजी प्रक्रिया मिलिसक्दा भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्ने भन्दै राहत वितरण प्रक्रियालाई जति सक्दो सहज र सरल बनाएर यथासक्य चाँडो वितरण गर्नुपर्ने बताउँछन् ।

रौतहटबाट संचारकर्मी अनमोल कार्कीको सहयोगमा  तयार पारिएको समाचार   । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*