भीड हटाउन गएको प्रहरी माथि नै हातपात

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । निर्णय गरसंगैसरकारले कार्यान्वयनका लागि बाक्लो मात्रामा प्रत्येक चोकचोकमा प्रहरी परिचालन गरेको छ । सरकारले लकडाउन अवधिमा सम्पूर्णलाई घरमै बस्नलाई आग्रह गरेको छ ।
अत्यावश्यक काममा बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन आग्रह गरे पनि विभिन्न ठाउँमा लकडाउनको कार्यान्वयन फितलो देखिन्छ भने कतिपय स्थानमा लकडाउनको अवज्ञा गरी मनिसहरुको भिडनै जम्मा गर्नेगरेको पाइएको छ । यसरी लकडाउनको अवज्ञा गर्ने विरुद्ध प्रहरीले पनि कडा रुप अपनाउँदै आएको छ ।
शुक्रबार मात्र रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एक जना प्रहरी माथि नै हातपात भएको छ । लौकाहा प्रहरी चौकीमा प्रमुख प्रहरी सहायक निरिक्षक मुनमुन सिंहको गस्ती टोलीले जिल्लाको परोहा नगरपालिका स्थित तेजापाकड मस्दिजमा भिड देखेपछि भिड नगर्न आग्रह गरे । प्रहरीको आग्रह स्विकानुको सट्टा उल्टै उनीहरु प्रहरी माथि जाइलागेको प्रहरीको भनाइ छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे वारातको पूर्वसन्ध्यामा उनीहरु बिहीबार साँझ ७ बजेतिर दुई सय बढीको संख्यामा मस्दिजमा भेला भएर नवाज पढ्दै गरेका थिए । सो समुहमा बच्चा, युवा, प्रौढ , वृद्ध सबै उमेरका मानिसहरु रहेका थिए । लकडाउनको बेला यसरी मानिसहरु जम्मा भएर भिड नर्गन र आफ्नै घरमा सुरक्षित रहन आग्रह गर्दा उल्टै आफुहरु माथि केही युवाहरुले हातपात गरेको प्रहरी सहायक निरिक्षक सिंहको भनाइ छ ।
उनले गस्ती गर्ने क्रममा मस्दिजमा भिडदेखेपछि त्यहाँ नमाज पढ्न आएका मानिसहरुलाई आफुहरुले भिडगर्दा कोरोना भाइरस र यसको संक्रमणको बारेमा सम्झाएको तर उल्टै अनेकौँ कुतर्क गर्दै हातपात गरेको बताए । जम्मा चार जनाको संख्यामा रहेको सिंहको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय मौलापुर लगायतमा स्थानहरुबाट ठुलो संख्यामा प्रहरी थप मद्धतको लागि सो स्थानमा पुगेको थियो । थप प्रहरी वल पुगेपछि स्थिति सामान्य भएको थियो ।
सो क्रममा प्रहरीमाथि हातपात गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा कलाम अन्सारी, साजिद अन्सारी र लालुु अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रवीराज खड्काले जानकारी दिएका छन् ।
खड्काका अनुसार पक्राउ परेकाहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको बताउँदै घटना बारे थप अनुसन्धान भइरहेकोे जानकारी दिए ।
जिल्लाका कतिपय मस्जिदहरुमा अझैपनि मानिसहरु जम्मा भएर नमाज पढ्ने क्रम नरोकिएको स्थानियहरुको गुनासो रहेको छ । आफुहरुलाई पनि यस्तो गुनासो आइरहेकाले प्रहरीले मस्जिदमा विशेष निगरानी बढाइरहेको जिल्लाका प्रहरी प्रमुख खड्काको भनाइ छ ।
रौतहटबाट संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको समाचार ।