कोरोनाविरुद्ध खटिँदा मृत्यु भएका परिवारलाई ५० लाख राहत, किसानको ब्याज सरकारले तिर्ने
प्रदेश २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा ज्यान गुमाएकाका पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामति, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भए पीडितको परिवारलाई रकम उपलब्ध गराउने भएको हो ।
पीडित परिवारलाई रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी गराउनुभयो।
बैठकले कृषि फर्मका लागि किसानले रु पाँच लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।बैठकले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैङ्क तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ ।
पाँच लाखदेखि १५ लाख रुपैयाँसम्मको ऋणमा १२ प्रतिशत सम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाख रुपैयाँसम्म ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम ब्याज तिरिदिने निर्णय गरेको सरकारका प्रवक्ता यादवले बताउनुभयो ।
यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा र माछामा यस निर्णय अतिरिक्त राहत उपलब्ध गराउने निर्णय भएको छ ।
रासस











