नदीजन्य पदार्थको अभावले गौतम बुद्ध अंतरराष्ट्रीय विमानस्थल काम ठप्प

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १५:१८
;

नदीजन्य पदार्थको अभावले राष्ट्रिय गौरवको आयोजना  निर्माणाधीन गौतम बुद्ध अंतरराष्ट्रीय  विमानस्थल निर्माणको काम ठप्प भएको छ। चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने गरी ठेक्का लिएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गरेको लकडाउनका कारणले निर्माणको सबै काम ठप्प भएको हो ।

विमानस्थल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले नदीजन्य पदार्थको उत्खनन् गर्न नपाएपछि काम ठप्प भएको हो । विमानस्थल निर्माणको करीब १० प्रतिशत काम मात्र बाँकी रहेको विमानस्थल निर्माण कम्पनीले जनाएको छ । 

विमास्थलको निर्माणमा धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भए पनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । 

निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । आयोजनाका लागि निर्माण कम्पनीका प्रतिनिधि र बुटवल उपमहानगरपालिका बीच तिनाउबाट बालुवागिट्टी ल्याउने सम्झौता फागुनमा भए पनि लकडाउनका कारणले काम रोकिएको अधिकारीको भनाई छ ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन् २०२० मार्च ३१ सम्म सम्पन्न हुनुपर्ने अन्तिम म्याद थियो ।  निर्माण कम्पनीले वैशाख र जेठभित्र नदीजन्य वस्तु निकाल्न नपाए विमानस्थल निर्माणको काम थप एक वर्ष लम्बिने अनुमान गरिएको छ । 

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो। सो कम्पनीले सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। 

निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*