मकवानपुर प्रशासनको बजार अनुगमन, व्यवसायीको कुरालाई क्रस चेक नगरी फर्कियो टोली
मकवानपुरमा हिजो शुक्रबार हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा बजार अनुगमन भएको थियो । बजार अनुगमनमा खटिएको टोलीले उपभोक्ताको हक हित भन्दा पनि व्यवसायी कै समस्यालाई सहि ठहर गर्दै फकिएको छ ।
अनुगमन टोलिका नेतृत्वकर्ता हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भिम तिमल्सीनाले व्यवसायीले नै उत्पादक संग महंगोमा किनेकाले हेटौंडा बजारमा पनि केहि खाद्यान्नहरुमा प्रति बोरा करिब २ सय रुपैंया बढेको बताए । उनले भने हेटौंडाका व्यवसायीले मृल्य वृद्धि गरेका हैनन्, उत्पादक संस्थाले बढाएर पठाएको दर अनुसार नै हेटौंडाका व्यवसायीले बिक्री गरेको दावि गरेका छन् ।
गत केहि दिन देखि हेटौंडा बजारमा खाद्य सामग्रीको मूल्य वृद्धिको समाचार विभिन्न संचार माध्यममा आएपछि मकवानपुरको स्थानीय प्रशासनले अनुगमन गरेको थियो । यस अघि मकवानपुर उद्योग वाणिज्य संघले वस्तुगत सदस्य खाद्यान्न व्यवसायी संघसंगको सहकार्यमा मूल्य सूची नै सार्वजनिक गरेको थियो । देश लकडाउनमा रहेको बेला मौका पारेर व्यवसायीले स्टक रहेको खाद्य सामग्रीमा नै मूल्य बढेर आएको भन्दै मूल्य बढाएको थियो । तर मूल्य सूची सार्वजनिक गर्नु अघिको मूल्यबारे कतै जानकारी नै छैन ।
अधिकृत तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, घरेलु उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले हेटौंडाका ७ वटा खाद्य गोदाम र २ वटा खुद्रा बिक्री केन्द्रमा अनुगमन गरेको थियो ।
खाद्य बजार अनुगमनमा मुख्यतयाः पुरानो मूल्यमा खरीद गरिएको खाद्य सामग्रीलाई वृद्धि भएको नयाँ मूल्यमा बिक्री गर्ने सम्भावना रहेकाले पहिले मौज्दात सामग्री हेरिसकेपछि मात्रै अनुगमन गर्ने दिनको खरीदमूल्य र बिक्री मूल्य हेरिन्छ । तर हेटौंडामा हिजो गरिएको अनुगमनमा सो नगरी अनुगमन भएको अधिकृत तिमल्सिनाले स्वीकार गरेका छन् । यसबाट प्रशासनले गरेको अनुगमन नाम मात्रैको अनुगमन भएको प्रष्ट देखिन्छ ।
अधिकृत तिमल्सिनाले व्यवसायीहरुले दिएको जानकारी अनुसार पछिल्लो समय ढुवानी खर्च, मजदूर ज्याला र पछिल्ला दिनमा उत्पादकले नै मूल्य वृद्धि गरेकाले मूल्य बढेको पाईएको बताएका छन् । उनले त्यसको आधिकारिक पुष्टि गर्न भने सकेनन् । अनुगमन टोली व्यवसायीले भनेकै कुरामा विश्वस्त हुँदै क्रस चेक नगरी फर्किएको हो ।
गत चैत्र २२ गते मकवानपुर खाद्य व्यवसायी संघले खाद्य सामग्रीको मूल्य सार्वजनिक गरेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने आउदो २ महिनाका लागि पुग्ने गरी जिल्लामा खाद्य सामग्रीको स्टक रहेको बताउँदै आएको र अत्यावश्यक वस्तुमा सहज रुपले पाईरहेको र कालो बजारी नभएको दाबी गर्दै आएको छ ।