कैलाली‚ कञ्चनपुर र बाग्लुङमा र्यापिड डाइग्नोस्टिक टेस्ट
कैलाली र कञ्चनपुरका क्वारन्टीनहरूमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोनाभाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट द्रुत परीक्षण गरिँदै छ।
सरकारले गत साता कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारन्टीनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेपछि यो विधिबाट परीक्षण सुरु भएको हो।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिँह कार्कीका अनुसार क्वारन्टीनमा रहेकाहरू अनि भारत तथा अन्य मुलुकबाट फर्किएका व्यक्तिहरूमा र्यापिड टेस्ट विधिको प्रयोग भइरहेको छ।
जोखिम स्थान
नेपालमा देखिएका नौजना कोरोनाभाइरस सङ्क्रमितमध्ये कैलालीमा तीन, कञ्चनपुरमा एक र बाग्लुङमा दुई जना रहेका छन्।
कैलालीका तीन र कञ्चनपुरका एकजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार द्रुत विधिबाट कैलालीमा ६३९‚ कञ्चनपुरमा ३८९‚ डोटीमा २१३ र बाजुरामा ४९ जनाको गरी १२८० जनाको परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाली सेनाले पनि क्वारन्टीनमा बसेकाहरुको थ्रोट स्वाब सङ्कलन गरिरहेको छ। सेना पुग्न नसकेको र छुटेकाहरूको थ्रोट स्वाब सङ्कलन जिल्लास्थित स्वास्थ्य कार्यालय मार्फत् भइरहेको छ।
अहिले संघीय सरकारको स्वास्थ्य विभागबाट आएको पाँच हजार र्यापिड डाइग्नोस्टिक टेस्ट किट धनगढीमा पुगिसकेको छ।