केही दिनमै डिस्चार्ज हुँदैछन् दुई कोरोना सङ्क्रमित: टेकु अस्पताल

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १४:०८
;

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।’

टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ । निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ ।

जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएको उहाँको भनाइ छ । ‘अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ । क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ’, निर्देशक डा. राभण्डारीले भन्नुभयो ।रासस

यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिनुभयो । टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वरेण्टीन कक्ष छन् । अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताउनुभयो ।

‘अक्सिजन प्लाण्ट’ सहितको सघन उपचारकक्ष तयार गरिँदैछ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बिरामीको कपडा धुलाइका लागि अस्पतालमै वासिङ मेसिन, विद्युत्का लागि ‘पावर ब्याकप’ तयार गरेको अस्पतालले जनाएको छ ।

विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन् ।

यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट अएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो । नेपालमा हालसम्म नौ जनामा कोभिडको सङ्क्रम देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् ।

नेपालमा दोस्रोपटक गत चैत १० गते कोभिडको नयाँ सङ्क्रमित फेला परेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएका ती पुरुष व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन ।

यस्तै चैत २० गते बागलुङ्का ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा एकै दिन थप तीन जनामा कोभिड सङ्क्रमण भेटिएको थियो ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*