आज वैशाख १ गते नयाँ वर्ष, घरमै बसेर नयाँ वर्षलाई स्वागत गरिदै
नयाँ वर्ष २०७७ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आज (सोमबार) बाट सुरु भएको हो ।
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।
यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।
सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर नयाँ वर्ष २०७७ को स्वागत गरिएको छ ।
ज्योतिष पण्डित वासुदेवकृष्ण शास्त्रीका अनुसार बिहान पाँच बजेर ४३ मिनटदेखि सात बजेर १७ मिनटसम्म सूर्यलाई अर्घ्य दिने अमृत बेला थियो ।
‘महामारीका बेलामा विश्व कल्याणको कामना गर्दै सूर्यलाई अर्घ्य दिएर नयाँ वर्षको स्वागत गरिएको हो,’ शास्त्रीले भने ।
प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।
यस वर्ष कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले सावधानीपूर्वक घर घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै छ ।











