पूर्व युवराज्ञीको हिमानी ट्रष्टले दियो कोरोना कोषमा २ करोड
पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ प्रदान गरेको छ । आइतबार सरकारले स्थापना गरेको कोरोना कोषमा ट्रष्टले उक्त रकम जम्मा गरेको हो ।
यो सँगै कोषमा हालसम्म १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ २ पैसा जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्र कोषमा ४ करोड ७८ लाख १२ हजार १ सय ७९ रुपैयाँ ७६ पैसा जम्मा भएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो ।










