टेकु अस्पतालका निर्देशक भन्छन्ः काठमाडौंमै १५ सय संक्रमित भेटिएको हल्ला कसले फैलाएछ!

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार १४:४१
;

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै कोरोना भाइरस संक्रमितको संख्या १५ सय रहेकाे भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला पूर्णत: गलत भएको बताएका छन्।

‘टेकु अस्पतालका एक वरिष्ठ अधिकारीले काठमाडौं उपत्यकामै कोरोनाको १५ सय केस रहेको बताएको’ भन्दै सामाजिक सञ्जाल ट्विटरमा लेखिएको पाइएपछि सोमबार बिहानै नेपालखबरले राखेको जिज्ञासामा निर्देशक राजभण्डारीले त्यो भ्रम भएको बताएका हुन्।

‘कसले त्यस्तो लेखेछन्, कुरै नबुझी,’ निर्देशक डा. राजभण्डारीले भने, ‘त्यो पूर्णतः गलत कुरा हो।’

उनका अनुसार केही समयअघि (हाल पनि होइन) देशभर कोरोना भाइरसको संक्रमण यतिसम्म भएमा हामी यसरी उपचार वा व्यवस्थापन गर्न सक्छौं भनेर अुनमान गर्ने क्रममा १५ सयको ‘प्लानिङ’ त्यो पनि देशभरका लागि गरिएको हो।

‘तर कुरा नबुझेपछि के लाग्छ र,’ डा. राजभण्डारीले भने, ‘काठमाडौं उपत्यका त झन् अहिले देशका अन्य स्थानका तुलनामा कोरोनाबाट सुरक्षित छ।’

बरु नेपाल-भारत खुला सीमाका कारण यतिबेला नेपालका तराईलगायत गाउँघर कोरोनाको जोखिम देखिएको उनले बताए।

‘अहिले भारतका बिहारलगायत क्षेत्रमा संक्रमितको संख्या बढिरहेको छ भने भारतबाट मानिस नेपाल भित्रिने क्रम बढेको छ,’ उनले भने, ‘त्यसलाई तत्काल रोक्न तथा कडाइ गर्न आवश्यक छ।’

डा. राजभण्डारीका अनुसार अलि अगाडि नेपालमा कोरोना संक्रमणको स्थिति आकलन र त्यसको समाधानका लागि योजना बनाउने क्रममा देशभरमा मानौं १५ सय मानिस कोरोना संक्रमित भए भने तीमध्ये ८० प्रतिशत त सामान्य लक्षणका हुन्छन्, जसलाई घरमै राखेर उपचार गराउन सकिन्छ।

अनि १०-१५ प्रतिशत बिरामीलाई मध्यम लक्षण देखिन सक्छन्, जसलाई अस्पतालका आइसोलेसन वार्डमा उपचार गर्न सकिन्छ भने बाँकी ५-१० प्रतिशत जसलाई आईसीयूको आवश्यकता पर्न सक्छ। यसरी गरिएको ‘प्लानिङ’लाई काठमाडौंमै १५ सय केस रहेकाे भनेर हल्ला फैलाएको देख्दा आफू अचम्मित भएको निर्देशक डा. राजभण्डारीले नेपालखबरसँग गुनासो गरे।

केही समययता कोरोना महामारीबारे सामाजिक सञ्जलामा गलत हल्ला फैलाउने र मानिसलाई आतंकित बनाउने क्रम बढेको छ।

कुन सूचना सही हो, कुन गलत हो तथा कुन सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गर्छन् भन्ने जानकारी नहुँदा पनि धेरै मानिस कोरोनाका विषयमा भ्रममा परिरहेका छन्। 

नेपालमा अहिलेसम्म १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।स्रोतः नेपाल खबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*