प्यूठान अस्पतालमा बढे उच्च ज्वरो र रुघाखोकीका बिरामी

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार २२:१२
;

प्यूठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताए ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको घिमिरेले बताए ।

स्वास्थ्य संस्थामा भाइरल ज्वरोको उपचारका लागि दैनिक ६० बिरामी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ । दैनिक बहिरङ्गमामा ४० र आकष्मिक कक्षमा २० जनासम्म बिरामी आउने गरेको बताइएको छ ।

सामान्य समयभन्दा बिरामीको संख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको संख्या भने कम रहेको उनले बताए । जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस संक्रमणको आशंका भए आइसोलेसनमा राख्ने गरिएको छ । हालसम्म यस्ता बिरामी नआएको अस्पतालले जनाएको छ । अस्पतालले कोरोना संक्रमणका बिरामी राख्न चार आइसोलेशन शय्या तयारी अवस्थामा राखेको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*