सिरहा नाकामा झडप, एक भारतीय पक्राउ

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार २२:१६
;

सीमा सुरक्षामा खटिएका प्रहरी र भारतीय नागरीक बिच सिरहा को सोहर्वामा झडप भएको छ । सिरहाको सिरहा नगरपालिका–१९ सोहर्वा नाकाबाट सोमबार एक भारतीय नागरिक नेपाल प्रवेश गर्ने क्रममा सीमामा खटिएका सशस्त्र प्रहरीको सुरक्षा बलले रोक्ने क्रममा झडप भएको हो ।

सशस्त्र प्रहरी र भारतीय नागरिक बिच झडपमा एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने एक भारतीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोहर्वा नाकाबाट सोमबार बिहान ११ बजे साइकलमा ५ पोका ल्याक्टोजिन दूध बोकेर नेपाल प्रवेश गर्दै गरेका भारत बिहार महुलियाका राजेन्द्रकुमार यादवलाई सीमामा तैनाथ सशस्त्र प्रहरीले रोकेर घरतर्फ फर्काएको सशस्त्र प्रहरी हेडक्वार्टर ७ नम्बर गणका प्रमुख एसपी प्रविण कँडेलले बताए ।  प्रमुख कँडेलका अनुसार यादवलाई फर्किएको केहीबेरमा नै विहार महुलियाबाट १८–२० जना युवाहरुको समूहले नेपाल–भारत सीमाभन्दा दुई सय मिटर वर नेपालतर्फ प्रवेश गरी सीमामा तैनाथ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेको जानकारी दिए ।

ढुंगा प्रहारबाट सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घाइते भएका छन् । उनको सिरहा अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।
सुरक्षाकर्मीले भारत महुलियाका मोहनकुमार यादवलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा रहेका यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको एसपी कँडेलले जानकारी दिए । 

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले घटनाका बारेमा थप अनुसन्‍धान भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*