अन्तर पालिका आउजाउ बन्द गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री पौडेलको निर्देशन 

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार २३:५८
;

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले देश र जनतामा समस्या उत्पन्न भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । मुख्यमन्त्री पौडेलले आज सोमबार प्रदेशका सुरक्षा प्रमुखसंगको छलफलमा लकडाउनले देश र जनतामा समस्या नै समस्या उत्पन्न भएको बताएका हुन् । 

मुख्यमन्त्री पौडेलले  प्रदेशका सुरक्षा प्रमुखलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । समस्याका बिच काम गर्नुपर्ने बाध्यता रहे पनि अहिलेको परिस्थितिलाई बुझेर आफ्नो आफ्नो क्षेत्रबाट सबैले लकडाउनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन समेत अनुरोध गरे ।

उनले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । तर काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रबाट घर पुग्न  पैदल हिँडेका व्यक्तिहरुको भने उचित व्यवस्थापनमा गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*