कोरोनाका कारण जिब्रो छेड्ने जात्रा स्थगित

मध्यपुर थिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ कोरोना भाइरसको संक्रमणको जोखिमका कारण यस वर्ष रोकिएको छ । मध्यपुर थिमि नगरपालिकाले कोरोना संक्रमणको जाखिमका कारण यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व भीडभाड नगरी मनाउने निर्णय गरेसँगै ऐतिहासिक जिब्रो छेड्ने बिस्का (बिस्केट) जात्रा स्थगित भएको हो ।
मध्यपुर थिमि नगरपालिकाले यस वर्ष जिब्रो छेड्ने बिस्का जात्रा नहुने र महालक्ष्मी मन्दिर परिसरमा लिङ्गो पनि नउभिने जानकारी सबै गुठीयारलाई दिइसकेो बताएको छ । नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठका अनुसार, भिडभाड नगरी देवदेवीलाई घरभित्रै विधिविधान पुर्याएर पूजा गर्न आग्रह गरेको बताएका छन् ।
८ वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका बोडेका जुजुभाइ श्रेष्ठ कोरोना भाइरसको त्रासका कारण यस वर्ष विश्व प्रसिद्ध जात्रा नै रोक्नुपर्ने अवस्था आउनु आफ्ना लागि पीडादायी भएको बताएका छन् ।