भारतमा लकडाउन वैशाख २१ गतेसम्म लम्बियो

भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि हाल जारी रहेको लकडाउनलाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि आज मंगलबार समाप्त हुँदैछ । प्रधानमन्त्री मोदीले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, ‘लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिने छ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिने छ ।’
यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए ।
प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गरेका थिए ।
सबैको सुझावलाई ध्यानमा राखेर नै मे ३ सम्म लकडाउन कायम गरिएको मङ्गलबारको सम्बोधनमा उनको भनाई थियो । यो सबै नागरिकको जीवनको सुरक्षाका लागि गरिएकोले सबैलाई यस अवधिमा घरभित्रै बस्न र बाहिर ननिस्किन पनि उनले आग्रह गरे ।
सरकारले जारी राखेको यही लकडाउनकै कारण भारतमा अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई कम गर्न सकिएको उनले बताए ।
सो सम्बोधनका क्रममा उनले भने, ‘हामीलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो परेको छ, कसैलाई खाने त कसैलाई आउजाउ गर्न पनि समस्या छ । तर पनि तपाईहरु सबै देशवासीले यस्तो अप्ठेरो अवस्थामा पनि अनुशासित रुपमा सरकारको आदेश मान्नु भएको छ र एक जना सिपाहीले जस्तो गरी कर्तव्यको पालना गर्नु भएको छ ।’
रासस