प्रशासनलाई टेर्दैनन् मकवानपूरका बैकहरु
गत चैत २४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले मकवानपुरका सबै निजी तथा सरकारी बैंकहरुलाई अनिवार्य रुपमा नियमित खोल्न निर्देशन दिएको छ ।
कमाण्ड पोष्टको बैठकले सुरक्षात्मक उपाए अपनाएर क्यास कारोबार गर्न र २४ सै घण्टा एटिएम सेवा संचालन गर्न बैँकहरुलाई निर्देशन दिएको छ ।
बैँकहरु संचालनमा नआएको खण्डमा अनुगमन गरेर कारबाही गर्ने मकवानपुर प्रशासनले बताउँदै आएको छ । तर बैँकहरु भने कमाण्ड पोष्टको निर्णयलाई लत्याएर सर्वसाधारणप्रतिको जिम्मेवारीबाट समेत पन्छिदै आएका छन् ।
अत्यावश्यक परेर पैसा निकाल्न बैँक पुगेका सर्वसाधारणहरु बैँकको गेटमा लगाइएको ताला हेरेर फर्कन बाध्य छन् । कतिपय बैँकका सुरक्षाकर्मीहरुले सर्वसाधारणलाई हप्काउने गरेको समेत सर्वसाधारणको गुनासो छ ।
मकवानपुरको सेन्चुरी, प्राइम, एन आइ सी एसिया, प्रभु, बैँक अफ काठमाडौँ, कुमारी, हिमालयन, सिद्धार्थ सनराइज, यती डेभलपमेन्ट, लक्ष्मीलगायतका बैँकहरुले क्यास कारोबार गरेका छैनन् । सरकारी बैँक नेपाल बैँक लिमिटेड र कृषि विकास बैँकले पनि क्यास कारोबार गरेको छैन ।
यी बैँकहरु मध्ये केहीले पहुँच पुग्नेको मात्रै कारोबार गर्ने र सर्वसाधारण नागरिकलाई गेटबाटै फर्काउने गरेको गुनासो बढेको छ ।
एटिएम खोलेर राखेको बैँकहरुमा पनि सर्भर डाउन हुने, क्यास सकिने जस्ता समस्या भएको भन्दै सुरक्षाकर्मीले फर्काउने गर्छन् । यद्यपी राष्ट्रिय वाणिज्य बैँक र ग्लोबल आइएमइ बैँकले भने नियमित सेवा प्रवाह गरिरहेका छन् ।
भीमफेदीमा क्यास र एटिएम सेवा दुबै बन्द
मकवानपुरको भीमफेदी गाउँपालिकामा ४ वटा बैँकहरु छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैँक भीमफेदी शाखा बाहेक सबै बन्द छन् ।
पैसा निकाल्न जाँदा सटरमा ताला लगाएको देखेपछि भीमफेदीका स्थानीयहरुले गुनासो गरेका छन् । आफुले दुख गरेर जम्मा गरेको पैसा संकटमा निकाल्न नपाउँदा बैँक प्रति सर्वसाधारणको आक्रोश छ ।
साभारः तु खबर











