लकडाउन पालना गराउने मकवानपुरका प्रहरी नै कोरोनाबाट असुरक्षित

प्रदेश २ को जिल्लाहरु पर्सा र रौतहटमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रबाट आउने तरकारी, फलफूललाई मकवानपुर भित्रिन जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयको कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको थियो । निर्णय अनुसार चामल, दाल, नुन जस्ता खाद्य पदार्थलाई भने सो ल्याउने सवारीलाई नाकामै सेनिटाईज गरेर मात्रै ल्याउने निर्णय समेत गरिएको छ ।
तर जिल्लालाई कोरोना संक्रमणबाट जोगाउन गम्भीर भएको दाबी गर्ने प्रशासनले नाकामा भने आजसम्म सेनिटाईजका सामग्री, स्प्रे मेशिन केही पनि उपलब्ध नगराएको तथ्य सार्वजनिक भएको छ ।
त्यस्तै मकवानपुर प्रशासनले देश लकडाउनमा गईसकेपछि सो कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेको छ । तर सडकमा अग्रमोर्चामा रहेर लकडाउन पालना गराउने प्रहरीलाई भने पर्याप्त मात्रामा मास्क, ग्लोभ्सहरु उपलब्ध गराएको छैन । दैनिक सयौं व्यक्तिहरुको नजिक पुग्ने प्रहरीको सुरक्षामा भने प्रशासनले ध्यान दिन सकेको छैन । अधिकांश प्रहरीहरुले आफ्नै खर्चमा कपडाको मास्क किनेर प्रयोग गर्दै आएको प्रहरीहरुको गुनासो रहेको छ ।
यस विषयमा मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जिल्लाका प्रहरीहरु कोरोना संक्रमण जोखिममा रहेको र पूर्ण रुपमा सुरक्षित नरहेको स्वीकार गरेका छन् ।
मकवानपुरमा यो रिपोर्ट तयार पार्दासम्म कसैमा कोरोना पोजेटिभ देखिएको छैन । मकवानपुरमा कोरोना जोखिम न्युनिकरणका लागि ५ सय बेडको क्वारेण्टाईन, १ सय बेडको आईसोलेशन र १० बेडको आईसियु कक्ष तयारी अवस्थामा राखेको बताईएको छ ।