राहतमा कुहिएको आलु र गन्हाएको चामल : राहतको चामल खाएर मरिन्छकी भन्ने डर !

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १३:२६
;

लहान नगरपालिकाले राहतमा बाँडेको कुहिएर खानै नमिल्ने चामल दलित तथा विपन्नले फिर्ता गरेका छन् । राहत बुझेका वडा नम्बर २० का दलित परिवारले बुधबार चामल वडा कार्यालयमै फिर्ता दिएका छन् ।

तीन दिनअघि राहतमा पाएको चामल फिर्ता गर्न वडा कार्यालयमा आएकी लहान– २० ब्राह्मण गाउँकी अनिता चौधरीले कोरोनाको संक्रमणभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ कि भन्ने डर लागेको बताइन् । ‘कुहिएर खानै नसकिने चामल दिएको छ, गन्हाउँछ । कोरोना भाइरस सरेरभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ भन्ने डर लागेको छ,’ ४१ वर्षीया अनिताले भनिन् ।

वडा नम्बर २० का ३७ वर्षीया लीलादेवी राम र ४६ वर्षीय भिखन रामले पनि चामल वडा कार्यालयमै फिर्ता गरेको बताए । ‘नपकाउँदै गन्हाएको थियो, पकाएपछि पनि खान सकिएन,’ वडा कार्यालयमै भेटिएकी लीलादेवीले भनिन्, ‘यस्तो कुहिएको चामल किन घरमा राख्ने भनेर यहीँ फिर्ता ल्याएकी हुँ ।’

वडाध्यक्ष गणेशकुमार चौधरीले राहत पाएका दलितहरूले चामलको विषयमा तीन दिनदेखि गुनासो गरिरहेको बताए । ‘वडा क्षेत्रमा तत्काल पहिचान गरिएका चार सय ६० घर दलित, गरिबमध्ये बुधबारसम्म तीन सय २३ घरधुरीलाई राहत बाँडेका छौँ,’ चौधरीले भने, ‘राहत बुझ्ने अधिकांशले चामल गन्हाएको भन्दै गुणस्तरमा प्रश्न उठाएका छन् ।’ बुधबार दिउँसो ब्राह्मण, रामटोल, हरिनगरा, मलहन्माका दलितहरू गुनासोसहित वडा कार्यालयमा पुगेका थिए । यति हुँदाहुँदै पनि वडाले छुटेका विपन्नहरूलाई समेत यस्तै राहत बाँड्ने तयारी गरेको छ ।

राहतका आलु कुहिएर वडा कार्यालय दुर्गन्धित
वडा कार्यालयमा अझै बाँड्न बाँकी ३९ पोका राहत सामग्री छन् । राहत प्याकेजमा २० किलो चामलसँगै एक किलो दाल, एक किलो नुन, चार किलो आलु, एक लिटर खानेतेल, नुहाउने र लुगा धुने गरी दुई थान साबुन र नगद दुई सय नगद थियो । तर, पोकाभित्रै आलु कुहिएर पानी बग्न थालेको छ । जसले वडा कार्यालय नै दुर्गन्धित बनाएको मोतीपुरकी मञ्जु पासवानले बताइन् ।

 साभारः नयाँ पत्रिका दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*