माघमा पनि काठमाडौं नआउने भयो मेलम्चीको पानी

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १५:१७
;

उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने सरकारको प्रतिबद्धता फेरि अपुरो हुने भएको छ । आयोजना निर्माणमा संलग्न मजदुर कोरोना भाइरसको त्रासले घर गएकाले आगामी माघभित्र काठमाडौंमा पानी ल्याउने सरकारको घोषणा पूरा नहुने भएको हो ।  

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव माधव बेल्वासेले निर्धारित ‘सेड्युल’ प्रभावित बनेको बताए । ‘कारोना भाइरसका कारण धेरै कामदार घर फर्किएका छन्, जसका कारण काम प्रभावित बनेको छ । लकडाउन अझै लम्बिने हो र काम नहुने हो भने निर्धारित समयमा पानी नआउने निश्चित देखिन्छ,’ उनले भने ।

मेलम्चीको बाँकी काम आगामी पुसभित्र सक्ने गरी सरकारले गत ८ माघमा चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेसनसहितका दश ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । तर, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि कामदारहरू धमाधम घर फर्किन थालेका छन् । मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले सुरुङ निर्माणमा ४० चिनियाँ र सय नेपाली गरी एक सय ४० कामदार मात्रै काममा छन् । जब कि लकडाउनअघि तीन सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । 

मेलम्ची विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले निर्धारित समयमा मेलम्चीको पानी आउने सम्भावना घट्दै गएको बताए । ‘आगामी माघसम्ममा उपत्यकामा खानेपानी ल्याइसक्ने हाम्रो लक्ष्य हो । तर, यही वेला लकडाउन भयो । कामदार घट्दै गएका छन् । त्यसैले निर्धारित समयमा खानेपानी आउन नसक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।

हेडवर्क्सको बेसमेन्टबाहेक अन्य काम भएकै छैनन् 

मेलम्ची विकास समितिका अनुसार खानेपानीको मुख्य मुहानमा आवश्यक डाइभर्सन (हेडवर्क्स) को काम आंशिक मात्रै भएको छ । हेडवक्र्स निर्माणका लागि मात्रै १०.४८ वर्गमिटर क्षेत्रफलको जग्गा आवश्यक पर्छ । यसका लागि सुरुङ प्रवेशद्वार आसपासका चट्टान फोडेर हटाइनुपर्छ । यही क्षेत्रभित्र सुरुङमार्गमा पानी फर्काउने ‘इन्टेक’ बन्छ । त्यससँगै ‘ड्याम’ बन्छ । ‘ड्याम’बाट आएको पानी ‘बेसन’मा थ्रिग्रिन्छ । त्यसपछि मात्रै पानी सुरुङ मार्गभित्र छिर्नयोग्य हुन्छ । तर, अहिले हेडवक्र्सको बेसमेन्ट निर्माणबाहेक अन्य काम भएका छैनन् । 

परियोेजनाका अनुसार सुरुङभित्र पानी पठाउन हेड वक्स्को काम सक्नुपर्ने हुन्छ । खोलाको पानी सीधै पठाउँदा बालुवा, माटो र ढुंगाले सुरुङ पुरिने खतरा हुन्छ । कमजोर चट्टान भएको ठाउँमा पहिरो जाने र सुरुङ नै पुरिने डर पनि उत्तिकै हुन्छ । सुरुङ फिनिसिङको काम सकिए पनि एयर भेन्टिलेसनको काम अझै पूरा हुन सकेको छैन । एयर भेन्टिलेसनले सुरुङभित्र बग्ने पानीको बहाव प्राकृतिक बनाउन मद्दत गर्छ । विकास समितिका अनुसार यस्ता भेन्टिलेटर अम्बाथान, सिन्धु र ग्याल्थुम गरी तीन ठाउँमा निर्माण गर्ने योजना छ । त्यसमध्ये अम्बाथानको काम भने आंशिक रूपमा सम्पन्न भएको छ । ‘दुई ठाउँमा भेन्टिलेसनको काम पनि सुरु हुने चरणमा छ । यसका लागि सुरुङभित्रबाट ड्रिल गरी बाहिर निकाल्नुपर्ने हुन्छ । यो काम गाह्रोमध्येको हो,’ विकास समितिका प्रवक्ता पन्तले भने ।

सिमेन्टको अभाव

खानेपानी मन्त्रालयका अनुसार लकडाउनका कारण सिमेन्ट अभाव भएपछि मुहानमा निर्माणाधीन डाइभर्सन (हेडवक्र्स)को ढलान हुन सकेको छैन । त्यस्तै, सुरुङ निर्माण पनि प्रभावित हुने भएको छ । मन्त्रालयले होङ्सी सिमेन्ट प्रयोग गर्ने योजना बनाए पनि टुंगो लागेको छैन । ‘सिमेन्ट अभाव भएको छ, होङ्सी सिमेन्ट प्रयोग गर्ने हाम्रो योजना हो । तर, निर्णय भएको छैन । यसका केही प्राविधिक पक्ष बाँकी छन् । विकल्पबारे पनि खोजी जारी छ । अहिले नै काम प्रभावित त बनेको छैन, तर निर्णयमा ढिलो भए प्रभावित हुन्छ,’ मन्त्रालयका सचिव बेल्वासेले भने ।

पौने आठ अर्बको आयोजनाको लागत बढेर साढे ११ अर्ब

चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले तीन वर्ष ठेक्का ओगटेर छाडेपछि सरकारले ३१ असार ०७० मा सुरुङ खन्न इटालियन कम्पनी सिएमसीलाई सात अर्ब ७२ करोड ३४ लाख ७१ हजारमा ठेक्का दियो । सम्झौताअनुसार कम्पनीले सम्पूर्ण काम एक हजार ९५ दिन (३६.५ महिना) मा सक्नुपर्ने थियो । निर्धारित समयमा काम भएको भए ०७३ को वैशाखमै सुरुङ निर्माण भइसक्थ्यो । तर, १८ महिना बढी हुँदा पनि काम सकिएन । भूकम्प र नाकाबन्दीका कारण काम गर्न नसकेको स्पष्टीकरण सिएमसीले दियो । बरु, लागत बढायो । मेलम्चीबाट बहिरिँदासम्म उसले करिब नौ अर्ब लगिसकेको छ । बाँकी काम सम्पन्न गर्न फेरि दुई अर्ब २७ करोड २० लाखमा सम्झौता भएको छ । यसरी आयोजनाको लागत बढेर ११ अर्ब २८ करोड पुगेको छ । 

पटक–पटक प्रतिबद्धता मात्रै

सरकारले पहिलोपटक १ वैशाख ०७३ भित्र उपत्यकामा मेलम्चीको पानी ल्याउने प्रतिबद्धता गरेको थियो । तर, सुस्त गतिको कामले लक्ष्य पूरा हुन सकेन । त्यसपछि सरकारले १५ असोज ०७३ मा ल्याउने जनायो । तर, यो प्रतिबद्धता पनि पूरा हुन सकेन । ६ महिनासम्मको नाकाबन्दी र भूकम्पको प्रभावका कारण काम हुन नसकेको स्पष्टीकरण सरकारले दियो । 

त्यसपछि सरकारले १५ असोज ०७४ भित्र मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने प्रतिबद्धता जनायो । तर, योपटक पनि उपत्यकावासी निराश भए । सरकारले नयाँ मिति १५ असोज ०७५ का लागि तोक्यो । तर, यसपटक निर्माण कार्यमा संलग्न ठेकेदारले नै काम छाडे । त्यसपछिको करिब एक वर्ष अलमलमै बित्यो ।

गत ८ माघमा सरकारले बाँकी काम सक्न नयाँ ठेकेदार कम्पनीलाई जिम्मा दियो । अगामी पुसभित्रै काम सक्ने सम्झौता थियो । यसकै आधारमा सरकारले आगामी माघभित्र मेलम्चीको पानी उपत्यकाका घरघरमा पु¥याउने प्रतिबद्धता जनाएको थियो । तर, अब त्यो पनि पूरा नहुने निश्चित भएको छ ।

स्रोतः नयाँपत्रिका दैनिक

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*