रौतहटमा कोरोना संक्रमित भटिएपछि स्थानीयद्वारा सडक अवरुद्ध (फोटो फिचर)

रौतहटमा एक युवकमा कोरोना संक्रमण भेटिएसंगै स्थानीयवासीमा त्रास बढेको छ । जिल्लामा कोरोनाको संक्रमित भेटिए पछि जिल्लावासी यतिखेर सजकता अपनाउने तर्फ अग्रसर भएका छन् ।
स्थानीयहरुले कोराना भाइरस बिशेष गरि बाहिरबाट आएका मानिसहरुबाट सर्ने प्रवल सम्भावना रहेको भन्दै आफ्नो गाउँलाई स्वतःस्फुर्त रुपमा शिलबन्दी गर्न थालेका छन् । उनीहरुले आफ्नो गाउँ टोलमा कोही मान्छे सहजै प्रवेश गर्न नदिन सडकमा विभिन्न अवरोधहरु राखेका छन् ।
मानिसहरु जथाभावी हिडडुल नगरुन् भन्ने उद्धेश्यले यस्ता अवरोधहरु राखेको उनीहरु बताउँछन् । लकडाउनको अवधिमा मानिसहरु हिडडुल नगरुन् र बाहिरबाट सवारी साधन प्रयोग गरेर गाउँमा मानिसहरु प्रवेश नगरुन भनेर बाटोमा अवरोध राखेको गढीमाइ नगरपालिका ३ का प्रियाशु श्रेष्ठ बताउछन् । उनले लकडाउनमा चहलपहल बढ्न नदिन स्थानियहरु आफै सचेत भएर यस्ता अवरोधहरु राखेको भन्दै यसले मानिसहरुको अनावश्यक आवत जावत बन्द हुने बताए ।
चन्द्रपुर नगरपालिका– २ मा कल्याण कार्कीले पनि आफुहरुले बाहिरबाट मानिसहरु आएर गाउँका मानिसहरुमा संक्रमण सार्ने जोखिम कम गर्न बाटोमा अवरोध खडा गरेको बताउँछन् ।
सरसर्ती हेर्दा स्थानियले भन्दा पनि बाहिरबाट आएका मानिसहरुबाट संक्रमणको जाखिम रहेकोले टोलमा बाहिरका मानिसहरुलाई प्रवेश निषेध गर्न यस्तो उपाय अपनाइएको उनको भनाइ छ ।
गत बैशाख १ गते इथनाथ नगरपलिकाको जनता मा.वि. औरैयाको क्वारेटाइनमा बसेका एक १९ वर्षिय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
गत चैत्र १६ गते भारतको दिल्ली हुँदै नेपाल आएका संक्रमित युवकमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिइ संक्रमण पुष्टि भएपछि स्थानियहरु जो कोहीँलाई पनि संक्रमण भएको हुन सक्ने भन्दै सचेत र सजक हुन थालेका छन् ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।