विश्वभर कोरोनाबाट २८ नेपालीको मृत्यु, १ हजार संक्रमित

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १५:३९
;

कोरोना संक्रमणबाट विश्वभर हालसम्म २८ जना नेपालीको मृत्यु भइसकेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) संख्या २८ पुगेको हो ।

एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य उपसमितिका अनुसार, नेपाल बाहेक विश्वभर एक हजार १ सय ६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आकडानुसार २१ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित रहेको जानाइएको छ ।

नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*