नेपाल आयल निगमद्वारा ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

नेपाल आयल निगमले उद्योग स्थापना गर्ने भनेर लामो समयदेखि अनुमति लिएर राख्ने र ग्यास उठाउने गरी पीडीओ लिन नआउने ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो ।
निगमको शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ ।
सैपाल ग्यास उद्योग अत्तरीया कैलाली, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङको अनुमति पत्र भने खारेज भएको छैन ।
उनीहरुले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको मात्रै होइन अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको समेत निगमको ठहर छ ।
खारेज हुने उद्योगहरु २०७१ माघ १४ भन्दा पछाडी अनुमति लिएका उद्योग हुन् । त्यसअघि अनुमति लिएका उद्योग भने निगमले यसअघि नै खारेज गरिसकेको जनाएको छ ।











