राहतमा नगद बाँडेको प्रति मकवानपुर काँग्रेसको आपत्ति
कोरोना संक्रमणको कारण देश लकडाउनमा गएसँगै विपन्न तथा मजदुरहरुका लागि स्थानीय तहको साथै विभिन्न संघसंस्थाले राहत वितरण गरिरहेको छ । यसका लागि सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न निर्देशन दिएको छ ।
यसै क्रममा मकवानपुरमा पनि राहत वितरण भईरहेको पनि छ । जिल्लामा राहत वितरण प्रणाली प्रति मकवानपुर काँगे्रसले आपत्ति जनाएको छ । काँग्रेस मकवानपुरले आज हेटौंडामा गरेको पत्रकार सम्मेलन मार्फत आपत्ति जनाएको हो ।
आज गरिएको पत्रकार सम्मेलनमा जिल्ला सभापनि इन्द्रबहादुर बानियाँले सरकारको निर्देशन विपरित मकवानपुरमा राहतको नाममा नगद वितरण गरेको प्रति आपत्ति जनाएका हुन् । सभापति बानियाँले गैरसरकारी संस्था राडो नेपालमार्फत हेटौंडाका विभिन्न वडामा राहतको नाममा नगद वितरण गरेको प्रति आपत्ति जनाउदै राहतको नाममा नगद वितरणको काम बन्द गर्दै राहत रकममा नभई आवश्यक सामग्री नै वितरणको व्यवस्थापन गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै बैशाख ५ गते बेलुका आएको हावाहुरीबाट जिल्लाको मनहरी गाउँपालिका–५ लगायतका क्षेत्रमा घरगोठ, तरकारी र अन्नबालीमा क्षति पुगेकोले यस तर्फ व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । काँग्रेस मकवानपुरले कोरोना संकटको अवस्थामा राज्यलाई व्ययभार बढ्ने गरी गरिएको भूमि समस्या समाधान आयोग गठनको निर्णय फिर्ता लिन पनि सरकारलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, पार्टी प्रवक्ता प्रदीप कोइराला लगायतको उपस्थिति थियो ।